राजनीति

रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मङ्सिर १४ र १५ गते प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नुहुनेछ । कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन् ।

दुई दिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्य मान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ । साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी सङ्गठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग सङ्गठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिनुभयो । कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्