स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन संविधानले तोकेको कार्यकालअनुसार नै हुनुपर्ने बताउनुभएको छ ।
एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संवैधानिक व्यवस्थाअनुसार निर्धारित समयमा सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन नियमित र निष्पक्ष हुनुपर्ने उल्लेख गर्दै निर्वाचनमा हारजीतलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभयो । निष्पक्ष निर्वाचन भएमा लोकतन्त्रमा कुनै पनि दल वा उम्मेदवारको हारजीत सामान्य विषय भएको उहाँको भनाइ थियो ।
निर्वाचनलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले जनताको अभिमतलाई सम्मान गर्नु नै लोकतन्त्रको मूल मर्म भएको बताउनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिम साता र प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिरमा हुनुपर्ने आफ्नो धारणा स्पष्ट पार्नुभयो । निर्वाचनको संवैधानिक कार्यकाल र समयतालिका परिवर्तन गरेर प्रदेशसभाको निर्वाचन अगाडि सार्न नहुने उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले एमालेभित्र नीति र विचारमा एकरुपकता रहेको स्पष्ट गर्दै पार्टीमा रहेर बाहिर जथाभाबी बोल्ने प्रवृत्ति अब अन्त्य हुने जनाउनुभयो ।