नेपाल

अयोध्याबाट जनकपुरधाम आएको रेलको भव्य स्वागत

जनकपुर । मर्यादा पुरुषोत्तम भगवान रामको जन्मभूमि अयोध्याबाट मंगलबार बिहान जगतजननी सीताको माइती जनकपुरधाम आएका भारतीय रेल र रेलमा सवार यात्रीलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

नेपाल सरकारका युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साह, जानकी मन्दिरको महन्थका उत्तराअधिकारी रोशन दास, नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीसहित स्वागतका लागि उपस्थित विशिष्ट अतिथिहरुले रेलमा सवार भारतीय अतिथि तथा यात्रीलाई फूलको माला लगाएर स्वागत गर्नुभयो ।

भारतीय रेलमा समस्तीपुरका एडिसनल डिभिजनल रेल्वे मैनेजर शनी सिन्हा, सिनियर डिभिजन कर्मसियल मैनेजर अमितेश कुमार सहितका रेल्वेका अधिकृत र कर्मचारीका साथै अयोध्याका स्थानीयहरु सवार भइ जनकपुरधाम आउनुभएको छ ।

नेपाल रेलवेले अतिथिहरुको स्वागत सम्मानका लागि जनकपुरधामको रेलवे स्टेशन परिसमा स्वागत समारोहको आयोजन गरी भव्य स्वागत सम्मान गरेको हो । उक्त अवसरमा अतिथिको स्वागतमा जनकपुरधामका बटुकहरूले स्वस्तिवाचन गर्नुको साथै मिथिला नाटय कला परिषदका कलाकारहरुले विभिन्न किसिमका माँगलिक गीत र नृत्य प्रस्तुत गरेका थिए ।

दुईवटा इन्जिनसहित १७ वटा बोगीमा सबार भइ आज बिहान ९ः४० बजे जनकपुरधाम आएका भारतीय रेलसहितका अतिथि र यात्रीहरुले जनकपुरधामको जानकी मन्दिरमा दर्शन पूजा गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिनुभयो ।

घुमघामको क्रममा उनीहरुले जनकपुरधामको राम मन्दिर, गंगासागर, स्वर्गद्वारी सहितका धार्मिक स्थलहरुको अवलोकन गर्नुभएको थियो । जनकपुरधामको घुमघाम पश्चात पुनः सोही रेलमा सवार भइ अतिथिहरु अयोध्याका लागि प्रस्थान गर्नुभयो ।

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा हरियो झन्डा देखाएर सप्ताहमा एक दिन चल्ने सो रेलको उद्घाटन गर्नुभएको थियो ।

सरयू कमला एक्सप्रेस नाम रहेको सो रेललाई मङ्सिर १३ गते शनिबारदेखि सातामा एक दिन व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी थालिएको नेपाल रेल्वेका प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्