राजनीति

प्रधानमन्त्रीको भारत भ्रमण : रु दुई खर्ब ४० अर्ब विकास सहायता, ऊर्जा र पूर्वाधारमा ऐतिहासिक सहकार्यको घोषणा

नेपाल र भारतबीचको हवाई सम्पर्क विस्तार गर्न हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको ‘बी ३४५’ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ । यसका लागि आवश्यक प्राविधिक परामर्श गरी कार्यविधि अन्तिम रूप दिइनेछ । नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावमा पनि दुवै पक्षले छलफल जारी राख्ने भएका छन् ।

काठमाडौँ । भारतले नेपाललाई रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा भएको उच्चस्तरीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिमार्फत विकास, ऊर्जा, पूर्वाधार, रेलमार्ग, व्यापार तथा प्रविधिसहितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने घोषणा गरिएको हो ।

उक्त रकममध्ये रु ५६ अर्ब विपद्पछिको पुनःनिर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि अनुदान स्वरूप र रु एक खर्ब ८४ अर्ब ऊर्जा क्षेत्रका परियोजनाका लागि ऋण सुविधाका रूपमा उपलब्ध गराइने छ । सहायताअन्तर्गत सञ्चालन हुने परियोजना र कार्यान्वयनको प्रक्रिया दुवै देशबीचको आपसी परामर्शबाट टुङ्गो लगाइने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

भारतका प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा जानुभएका प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो । नेपालमा हाल सञ्चालन भइरहेका विकास परियोजना, उच्च प्रभाव सामुदायिक विकास परियोजना तथा राष्ट्रिय प्रहरी प्रतिष्ठान निर्माणमा भएको प्रगतिप्रति दुवै प्रधानमन्त्रीले सन्तुष्टि व्यक्त गरेका छन् । भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणा पनि गरिएको छ ।

‘विकसित भारत, समुन्नत नेपाल’ संयुक्त दृष्टिकोण

नेपाल र भारतले ‘विकसित भारत र समुन्नत नेपाल’ नामक संयुक्त दृष्टिकोणपत्र अङ्गीकार गरेका छन् । यसले दुई देशबीचको भविष्यउन्मुख साझेदारीका लागि नयाँ मार्गचित्र प्रस्तुत गर्नेछ ।

संयुक्त दृष्टिकोणमा आर्थिक तथा विकास साझेदारी, ऊर्जा, जलस्रोत, यातायात, सम्पर्क सञ्जाल, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनलाई प्राथमिकतामा राखिएको छ ।

नेपालको पारवहन व्यापारलाई सहज बनाउन भारतले गुजरातस्थित दीनदयाल बन्दरगाह (काण्डला) प्रयोग गर्न नयाँ पहुँच मार्ग उपलब्ध गराउने घोषणा गरेको छ । आवश्यक पूर्वाधार निर्माण भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म पनि नेपालको पहुँच विस्तार गरिनेछ । यसले नेपालको तेस्रो मुलुकसँगको व्यापार तथा पारवहनका लागि थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी बनाइने

नेपाल र भारतबीचको हवाई सम्पर्क विस्तार गर्न हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको ‘बी ३४५’ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ । यसका लागि आवश्यक प्राविधिक परामर्श गरी कार्यविधि अन्तिम रूप दिइनेछ । नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावमा पनि दुवै पक्षले छलफल जारी राख्ने भएका छन् ।

दुई देशबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले अयोध्या–जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरिएको छ । यस रेल सेवाले रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नुका साथै भारत र नेपालबीचको ऐतिहासिक तथा सभ्यतागत सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किट विकासका लागि पनि यस्तै सम्पर्क सेवाको सम्भावना खोजिने भएको छ ।

त्यसैगरी, प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे अन्तिम रूप दिइएको छ । नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासका लागि पनि भारतले सहकार्य गर्ने भएको छ ।

सीमा पूर्वाधार र एकीकृत जाँच चौकी विस्तार

नेपाल र भारतबीच सीमापार व्यापार तथा आवागमन सहज बनाउन नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी र पेट्रोलियम पाइपलाइन निर्माणलाई प्राथमिकता दिइने भएको छ ।

दुवै प्रधानमन्त्रीले बनबासामा नयाँ एकीकृत जाँच चौकी निर्माणको भर्चुअल शिलान्यास गरेका छन् । भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको प्रगतिप्रति पनि सन्तुष्टि व्यक्त गरिएको छ ।

यसैगरी, भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण गरिएको नयाँ सीमापार मोटर चल्ने पुल उद्घाटन गरिएको छ । यसले पश्चिमी नेपाल र भारतबीचको प्रत्यक्ष आवागमनलाई सहज बनाउनेछ ।

सीमा स्तम्भको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कामलाई निरन्तरता दिने र बाँकी सीमा समस्याहरू समाधान गर्न दुवै देशका परराष्ट्र सचिवले काम गर्ने सहमति भएको छ ।

पेट्रोलियम पाइपलाइन र झापामा नयाँ टर्मिनल

नेपाल–भारत ऊर्जा पूर्वाधार सहकार्यअन्तर्गत मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपालका जनतालाई समर्पण गरिएको छ ।

त्यसैगरी, झापामा पेट्रोलियम टर्मिनल निर्माणका लागि भर्चुअल शिलान्यास गरिएको छ ।  सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको निर्माण शीघ्र सुरु गर्न दुवै पक्षले जोड दिएका छन् । नेपाल र भारतबीच ग्यास पाइपलाइन निर्माणमा समेत सहकार्यको सम्भावना खोजिने भएको छ ।

जलविद्युत् क्षेत्रमा सहकार्य विस्तार गर्दै नेपालमा भारतीय कम्पनीहरूको सहभागितामा निर्माण भइरहेका परियोजनालाई शीघ्र सम्पन्न गर्ने सहमति भएको छ । यसै अवसरमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको भर्चुअल शिलान्यास गरिएको छ ।

त्यसैगरी, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन शीघ्र अन्तिम रूप दिई कार्यान्वयन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ । सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको म्एच् निर्माण कार्यलाई पनि तीव्रता दिने सहमति भएको छ ।

नेपालको इनरुवा–भारतको न्यू पूर्णिया र नेपालको दोदोधारा–भारतको बरेलीबीच दुई उच्च क्षमताका सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त उद्यम गठनसम्बन्धी प्रगतिप्रति पनि दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् ।

यसैगरी नेपालको उच्च शिक्षा तथा प्रविधि क्षेत्रको विकासका लागि भारतले नेपालमा भारतीय प्रविधि संस्थानको सम्बन्धन प्राप्त क्याम्पस स्थापना गर्ने सहमति गरेको छ ।

यसबाट नेपालको शिक्षा तथा अनुसन्धान क्षेत्रमा सहयोग पुग्नुका साथै दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जनामा योगदान पुग्ने अपेक्षा गरिएको छ । दुवै देशले स्टार्टअप, डिजिटल सेवा तथा वित्तीय सम्पर्क सञ्जालको क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । साथै, एक देशका नागरिक अर्को देशमा बसोबास गर्दा बैङ्किङ तथा दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउन सहजीकरण गर्ने सहमति भएको छ ।

आठ समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबीच आठवटा समझदारीपत्र आदानप्रदान भएका छन् । ती समझदारी पत्रहरूमा निम्न विषय समेटिएका छन्:

–राष्ट्रिय न्यायिक विज्ञान विश्वविद्यालय, भारत र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य ।
–भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच सहकार्य ।
–नेपालका निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम ।
–आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणालीमा सहकार्य ।
–दक्षिण एसिया उपग्रहको उपयोगका लागि भू–उपग्रह सञ्चार सञ्जाल स्थापना ।
–दिगो सहरी विकासमा प्राविधिक सहकार्य ।
–स्वास्थ्य तथा चिकित्साको क्षेत्रमा सहकार्य ।
–पशुधन तथा मत्स्य विकासमा सहकार्य ।

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको छ । प्रधानमन्त्री मोदीले उक्त निमन्त्रणा स्वीकार गर्नुभएको र भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

दुवै देशबीचको सम्बन्ध गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै संयुक्त विज्ञप्तिले नियमित उच्चस्तरीय भ्रमण तथा आर्थिक र विकास सहकार्यलाई थप अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्