आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा
काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
राति गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।