प्रहरीद्वारा पत्रकार पक्राउ, संचारगृहमा छापा, प्रधानमन्त्री कार्यालय भन्छ संलग्नता छैन
काठमाडौँ । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री, उहाँको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संलग्नता नरहेको बताएपनि शुक्रबार नेपाल प्रहरीले केहि संचार गृहमा छापा मार्ने र पत्रकारहरुलाई धरपकड गरेको छ ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले घटनाबारे प्रधानमन्त्री र उहाँको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको बताउनुभएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्रीले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न तथा सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिइसक्नुभएको दाहालले उल्लेख गर्नुभएको छ ।
यसैबिच, प्रेस काउन्सिल नेपालले शुक्रबार कार्यालय समयपछि सादा पोशाकका प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरीको छानबिन गर्ने जिम्मेवारी आफूमा रहेको जनाउँदै प्रहरीलाई कानुनी प्रक्रिया अपनाउन आग्रह गरेको छ ।
काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको प्रवर्द्धनमा प्रतिबद्धता व्यक्त गरिएको छ ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने र सञ्चारगृहमा छापा मार्ने कार्यप्रति विरोध जनाएको छ ।
पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा यस्तो कार्य प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यविपरीत भएको जनाउँदै पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न माग गरिएको छ ।
यसैबीच सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी दिएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका हुन्। सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ छ।
उनले लेखेका छन्, ‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्। सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।’