ग्लोबल आइएमई बैङ्क ‘बेस्ट बैङ्क अवार्ड’ २०२६ बाट सम्मानित
काठमाडौँ। ग्लोबल आइएमई बैङ्क अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ ले प्रदान गर्ने ‘बेस्ट बैङ्क अवार्ड’ २०२६ बाट सम्मानित भएको छ ।
यससँगै बैङ्क लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैङ्क अवार्डबाट सम्मानित भएको बैङ्कले जनाएको छ । ग्लोबल आइएमई बैङ्कले सन् २०२४ र २०२५ मा पनि सोही विधामा उक्त अवार्ड प्राप्त गरेको थियो ।
थाइल्यान्डको राजधानी बैङ्ककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई उक्त अवार्ड प्रदान गर्नुभयो ।
ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालनको क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को सफल प्रयोग, दिगो कर्जा प्रवाह एवं सबल जोखिम व्यवस्थापनलाई मुख्य आधार मानेर बैङ्कलाई पुरस्कृत गरेको जनाएको छ ।
समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थालाई समेत पुरस्कृत गरिएको थियो ।
जसमा हङकङको बैङ्क अफ चाइना, भारतको स्टेट बैङ्क अफ इन्डिया, चीनको आइसिबिसी, नेपालको ग्लोबल आइएमई बैङ्क, मलेसियाको युओबी मलेसिया, बङ्गलादेशको सिटी बैङ्क, जापानको एमयुएफजी बैङ्कलगायत अन्तर्राष्ट्रिय ख्याति प्राप्त बैङ्कहरू विभिन्न विधामा सम्मानित भएका छन् ।