राजनीति

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत कार्यसमिति चयनका लागि आज बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिला गरी सुरू गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदानका लागि काठमाडौँका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ । सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ ।

मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्