राजनीति

विगतमा केही नभएको भाष्य निर्माण गलत हो : पूर्व प्रधानमन्त्री नेपाल

जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले विगतका सरकारले केही काम नगरेको भाष्यको निर्माण गलत भएको बताउनुभएको छ ।

पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवसको अवसरमा पुष्पलाल मित्र केन्द्रद्वारा जनकपुरधाममा आयोजित “वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलको भूमिका” विषयक विचार गोष्ठीमा उहाँले विगतमा कम्युनिष्ट सरकारले ६२ हजार सुकुम्बासीलाई लालपूर्जा प्रदान गरेको, सामाजिक सुरक्षा भत्ता लागु गरेको, विकेन्द्रीकरणको नीति ल्याएर आफ्नो गाउँ आफैँ बनाउन, नौ ससको अभियान, जनता आवास जस्ता लोकप्रिय तथा जनतामुखी कार्यक्रम ल्याएको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री नेपालले कमलैया, कमलरी मुक्ति, दलित मुस्लिम सहितका पछाडि परेका वर्गका छोरा छोरीलाई निःशुल्क शिक्षा सहितका कार्यक्रमहरू लागु गरेको दाबी गर्दै हुलाकी राजमार्ग, फाष्ट ट्रयाक तथा मदन आश्रित मध्य पहाडी लोक राजमार्गको निर्माण जस्ता अनेकन विकासको काम कम्युनिष्टको नेतृत्वको सरकारमा भएको बताउनुभयो ।

उहाँले मान्छेले केही लिएर जाँदैन भन्ने उदाहरण रसुवा बाढीले प्रमाणित गरेकाले देशको समृद्धि र विकासका लागि अब इमानदारिताका साथ अगाडी बढ्नुको विकल्प नभएको बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका मधेश संयोजक महेन्द्र रायले कम्युनिष्ट पार्टीहरू पटक पटक विभाजित हुँदै आएकाले कमजोर बनेको बताउँदै अहिले कम्युनिष्ट तथा लोकतान्त्रिक पार्टीहरूका बीचमा एकता आवश्यक भएको बताउनुभयो ।

नेकपा एमालेका मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले सङ्घीयता तथा लोकतन्त्रका रक्षाका लागि वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूका बीचमा एकता तथा सहकार्य आवश्यक भएको बताउनुभयो ।

पुष्पलाल मित्र केन्द्रका केन्द्रीय उपाध्यक्ष यदुवंश झाको अध्यक्षतामा भएको कार्यक्रममा वामपन्थी नेताहरू रोशन जनकपुरी, झल्कु यादव, किरण कर्ण लगायतले वामपन्थी एकता केवल सत्ता र शक्तिको लागि नभई जनताको जीवन परिवर्तनका लागि हुनुपर्ने धारणा राख्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्