चार दिन भारी वर्षा हुने, सावधानी अपनाउन आग्रह
काठमाडौँ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
उत्तर अन्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भूभाग आसपास रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै डिप डिप्रसन (बलियो न्यून चापीय क्षेत्र) भइ पश्चिम–उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ । यसको प्रभावले बुधबारबाट नै देशका विभिन्न भूभागमा वर्षाको गतिविधि बढ्दै जाने महाशाखाको पूर्वानुमान छ ।
मौसमविद् डेबिड ढकालका अनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भूभागमा मेघगर्जन चट्याङ्ग हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । उक्त समय गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्ग हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक, दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ ।
साथै मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपशिचम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन चट्याङ्ग हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली प्रदेशको थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
उहाँले भारीदेखि धेरै भारी वर्षा हुने समयमा काठमाडौँ उपत्यका लगायत देशका सबै क्षेत्रमा सावधानी अप्नाउनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यका लगायत अन्य क्षेत्रमा कमजोर भूभाग छ भने पहिले नै सुरक्षित स्थानमा बस्न सकियो । काठमाडौँ उपत्यकाका लागि विशेषगरी खोलाका किनार आसपासका क्षेत्रमा सावधान भएर बस्दा राम्रो हुने देखिन्छ ।” यस किसिमको भारी वर्षा विगतमा पनि आउनेगरेको उहाँ बताउनुहुन्छ ।
मौसमविद् अनिशा निरौलाले हाल बङ्गालको खाडीमा न्यून चापीय प्रणाली अझै बलियो बन्दै पश्चिम–उत्तर पश्चिमतर्फ सर्दै गएको बताउनुभयो । यो प्रणाली असोज ७ गते बेलुका दक्षिण ओडिसा उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिक पुग्ने सम्भावना छ ।
सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरुमा डुबानको जोखिम रहेको महाशाखाले बताएको छ । यसकारण, ठुला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अप्नाउन अनुरोध गरिएको छ ।
साथै उक्त मौसम प्रणालीको प्रभाव देशको हिमाली भूभागमा भारीसम्म हिमपात हुन सक्ने भएकोले पर्वतारोही तथा सम्बन्धित सबैले उच्च सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ ।