बाजुराका ९६ बस्ती बाढीपहिरोको उच्च जोखिममा
बाजुरा। बाजुराका नौवटै स्थानीय तहका करिब ९६ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । भिरालो भूभाग, कमजोर भू–बनोट, नदी कटान, अव्यवस्थित सडक निर्माण तथा जलवायु परिवर्तनको बढ्दो असरका कारण ती बस्ती बाढीपहिरोको उच्च जोखिममा परेका हुन् ।
विगतका वर्षदेखि जोखिममा रहेका यहाँका करिब ९६ गाउँबस्ती अहिले पनि स्थानान्तरणको पर्खाइमा छन् । स्थानीयले पटक–पटक सरकारसँग बस्ती स्थानान्तरणको माग गर्दै आए पनि राज्यले अझै सुरक्षित स्थानमा सार्न सकेको छैन ।
बुढीगङ्गा नगरपालिका–२ अम्कोटमा रहेको पूरै बस्ती पहिरोको जोखिममा परेको करिब २० वर्ष भए पनि अझै स्थानान्तरण हुन नसकेको स्थानीय कल्धरी नेपालीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिरोले बस्ती छोड भनी सक्यो । तर मेरो आर्थिक अवस्थाले घरबस्ती छोड्न मानेको छैन । घरबस्ती छोडौँ, कहाँ गएर बस्ने रु घरबस्ती नछोडौँ, कुन रात पहिरोमा परी ज्यान जाने हो भन्ने डर छ ।”
हिउँदमा घरमा राम्रोसँग बस्न पाए पनि वर्षायाममा डरैडरमा बस्नुपर्ने अवस्था रहेको पहिरोपीडित नेपालीले बताउनुभयो ।
जिल्लाको बडीमालिकामा १६, बुढीगङ्गामा १२, त्रिवेणीमा १६, बुढीनन्दामा ११, गौमुलमा १२, खप्तड छेडेदहमा १०, जगन्नाथमा पाँच, स्वामीकार्तिक खापरमा सात र हिमालीमा चार गाउँबस्ती पहिरोको जोखिममा रहेका छन् ।
जोखिममा परेका हिमालीका कवाडी, क्वीडी, बोर्ता, बोल्डीकस स्वामीकार्तिक खापरका रुडी, छुदरी, पुडेनी, घट्टा, तल्लो जुकु, जेरा, डाँडावाडास जगन्नाथका लुमा, आसवाडा, पैयापहिरोस बुढीनन्दाका मटेला, पार्तोला, रावतवाडा, पिपलडाली र कोल्टी स्थानान्तरणको पर्खाइमा छन् ।
त्यसैगरी, जिल्लाको तल्लो क्षेत्रमा बडीमालिकाका सल्लेना, मैमातोला, बिष्टवाडा, बथानलेख, उखाडी र जिल्लीस गौमुलका दुर्गाली, खौला, अन्द्राडी, कुहुडा, पौदाली, आगरपाते, गर्जे, कौडाकोट, गदाडा, नखराडा, पडीकोट, गैरीवाडा, शान्तिटोल, चदारवाडा र सालिकोटस बुढीगङ्गाका अम्कोट, बजेडी, काप्रा, देनसायल, निमनी र बेलकाटियालगायतका बस्ती पनि स्थानान्तरणको पर्खाइमा छन् ।
त्यस्तै, त्रिवेणीका सिम्ला, सिन्नेकोट, बमवाडा, पैमा, भाटगाउँ तथा खप्तड छेडेदहका आरुगाडा, धनाल्त, गुईवन, दोगडी, सिम्पाटा, नाइला, चदारवाडा, हातेखेल र गुम्लागाउँका बस्ती पनि स्थानान्तरणको पर्खाइमा छन् ।
ती बस्तीलाई अन्य सुरक्षित स्थानमा स्थानान्तरण गर्न भने निकै सकस भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
यता, जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि जिल्लाका पिनालेख, चुथी, मैमातोला खोया, चौसाल, बर्दादेवी क्षेत्र, करासैन, पाण्डुसैन, अम्लिस, बासैन, डोप्केगडा, चौढुङ्गा, मेलपाटा, खरिपाटा, बर्मे, मेलगड्यान, लामगाउँ, काडाकोट, कोट, गोत्री, मनिकाडा, सुईजिउला, कप्साडी, तिथिचौर, साँखा, धुलाचौर र युनाबगर क्षेत्र सुरक्षित रहेको स्थानीय तहले बताएका छन् ।
२०७७ सालदेखि बाढीपहिरोलगायत विपद्जन्य घटनामा परी झन्डै ६२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, एक हजार ७२८ रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
“बस्ती जोखिममा छन् । ती बस्ती तुरुन्तै अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था छ । तर अहिलेसम्म प्रक्रिया नमिलेका कारण सुरक्षित स्थानमा सार्न सकस भएको छ,” जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।