डिएचएसद्वारा एच-१बि भिसाको आवेदन शुल्क १,०३,२६५ डलर कायम गरिदै
वार्षिक रूपमा जारी गरिने कोटा-अन्तर्गतका एच-१बि भिसाको संख्या ६५,००० मा सीमित छ भने अमेरिकी उच्च शिक्षण संस्थाबाट स्नातकोत्तर वा सोभन्दा माथिल्लो उपाधि हासिल गरेका दक्ष आप्रवासीहरूका लागि थप २०,००० भिसाको व्यवस्था रहेको छ।
लस एन्जलस । ‘होमल्याण्ड सेक्युरिटी’ विभाग (डिएचएस) ले एच-१बि भिसाको कोटा लागु हुने सबै आवेदनहरूका लागि १,०३,२६५ डलरको शुल्क तोक्ने प्रस्ताव अघि सारेको छ । यसमा उच्च शैक्षिक उपाधिका कारण कोटाबाट छुट पाउने आवेदनहरू पनि समावेश रहेको छ ।
सोमाबर एक विज्ञाप्ति जारी गर्दै डिएचएसले प्रस्तावित शुल्क आवेदन दर्ता गर्ने समयमै तिर्नुपर्ने र अन्य लागु हुने सबै शुल्क वा भुक्तानीहरूका अतिरिक्त यो शुल्क लिइने जनाएको छ ।
प्रस्तावित शुल्कबाट उठ्ने रकमले कानुनी आप्रवासन प्रणाली सञ्चालन गर्न संघीय सरकारलाई लाग्ने खर्चको केही हिस्सा उठाउन मद्दत गर्ने डिएचएसको दावी छ ।
खर्चहरूमा आप्रवासनसम्बन्धी सुविधाको निर्णय प्रक्रिया, ठगी पत्ता लगाउने र राष्ट्रिय सुरक्षा जाँच कार्य, प्रणालीको आधुनिकीकरण, अभिलेख तथा शुल्क संकलन कार्य, आप्रवासन अदालतको सञ्चालन, कन्सुलर भिसा प्रक्रिया, श्रम मापदण्डको कार्यान्वयन र विभिन्न निकायबीचको समन्वय जस्ता कार्यहरू समावेश रहेको डिएचएसले जनाएको छ ।
डिएचएसको अनुमान अनुसार, वार्षिक ८५,००० एच-१बि आवेदनहरू (जसमा कोटा प्रणाली लागु हुन्छ) प्राप्त हुने प्रक्षेपणका आधारमा यो प्रस्तावित शुल्कबाट वार्षिक करिब ८.८ अर्ब डलर राजस्व संकलन हुनेछ।
युएससीआईएसका प्रवक्ता ज्याक काहलरले भने, ‘प्रस्तावित एच-१बि शुल्कको उद्धेश्य कानुनी आप्रवासन कार्यक्रमहरूको निर्णय प्रक्रिया, सुरक्षा जाँच र सहयोगका लागि संघीय सरकारलाई लाग्ने खर्च उठाउनु हो; अन्यथा, यस्ता कार्यक्रमहरूका लागि करदाताको पैसा खर्च गर्नुपर्ने हुन्थ्यो।’
डिएचएसका अनुसार प्रस्तावित नियममा कोटा प्रणाली लागु नहुने एच-१बि आवेदनहरूमा यो अतिरिक्त शुल्क लाग्ने छैन।
वार्षिक रूपमा जारी गरिने कोटा-अन्तर्गतका एच-१बि भिसाको संख्या ६५,००० मा सीमित छ भने अमेरिकी उच्च शिक्षण संस्थाबाट स्नातकोत्तर वा सोभन्दा माथिल्लो उपाधि हासिल गरेका दक्ष आप्रवासीहरूका लागि थप २०,००० भिसाको व्यवस्था रहेको छ।