नेपाल

दैलेखको नौमूले गाउँपालिका ३, भाँडेमा भाइरल ज्वरोको प्रकोप

दैलेख । दैलेखको नौमूले गाउँपालिका ३ भाँडेमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । गाउँका अधिकांश नागरिकमा खोकी लाग्ने र उच्च ज्वरो आउने समस्या देखिएको स्थानीयले बताएका छन् । 

अहिले गाउँमा भाइरल ज्वरोका बिरामी रहेको स्थानीय अगुवा गङ्गाराम सापकोटाले जानकारी दिनुभयो । भाँडे क्षेत्रको ठुलो चम्लाय, निर्गा, भावरसैनी, भित्री खोला लगायतका बस्तीहरूमा ज्वरोका बिरामी बढी देखिएको उहाँले बताउनुभयो । एक सातादेखि गाउँमा ज्वरोको समस्या फैलिए पनि हालसम्म नियन्त्रणमा आउन नसकेको स्थानीय सापकोटाले बताउनुभयो ।

यस्तै स्थानीय भविलाल सुनखरीले आफू पनि विगत पाँच दिनदेखि ज्वरोका कारण थलिएको बताउनुभयो । भौगोलिक विकटता र गाउँमा रहेको एकमात्र स्वास्थ्य इकाइले बन्द हुँदा झन् सास्ती उहाँको भनाई छ । भाँडे गाउँमै रहेको ‘कागते स्वास्थ्य इकाइ’ विगत एक वर्षदेखि बन्द रहेकाले स्थानीयले बताएका छन् । नागरिक गाउँमै सामान्य उपचार पाउनबाट समेत वञ्चित भएको उनीहरूको भनाई छ ।

सामान्य स्वास्थ्य उपचारका लागि पनि स्थानीयबासीलाई नौमूले बजार पुग्न करिब तीन घण्टा र द्वारी स्वास्थ्य चौकी पुग्न झण्डै दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहको नौमूले गाउँपालिका ३ का वडाध्यक्ष नरबहादुर पुरीले बताउनुभयो । वर्षातका कारण बाटोघाटो हिलाम्मे र कठिन भएकाले बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन निकै समस्या भइरहेको वडाध्यक्ष पुरीले बताउनुभयो ।

गाउँमा प्रकोप बढेपछि वडाकै अर्को स्वास्थ्य संस्थामा कार्यरत अस्थायी स्वास्थ्यकर्मी वसन्त सापकोटाले बिहान–साँझ प्रभावित क्षेत्रमा पुगेर सिटामोल वितरण गर्दै आउनुभएको छ । तर, सिटामोल खाए पनि बिरामी निको हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

गाउँमा ज्वरोका बिरामीको संख्या दिनानुदिन बढे पनि हालसम्म स्वास्थ्य सेवा कार्यालय दैलेख वा प्राथमिक स्वास्थ्य केन्द्र नौमूलेबाट कुनै पनि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुग्न सकेको छैन ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. मनोज विश्वकर्माले भाँडे गाउँमा भाइरल ज्वरो फैलिएको जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले बिरामीको उपचार र अवस्था नियन्त्रणका लागि तत्काल स्वास्थ्यकर्मीको विशेष टोली प्रभावित गाउँमा पठाइएको जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्