क्यालिफोर्निया

गभर्नर न्युसमले १,७०० नयाँ किफायती आवास एकाइहरूको निर्माण प्रक्रियालाई तीव्रता दिएका छन्

स्याक्रामेन्टो। गभर्नर ग्याभिन न्युसमले आज क्यालिफोर्नियाका बासिन्दाहरूका लागि १,७०० घरहरू सहितका २० वटा निर्माण-तयार किफायती भाडाका आवास परियोजनाहरू बजारमा ल्याउन मद्धत गर्ने गरी करिब २३९ मिलियन डलरको लगानी घोषणा गरेका छन्। विकास कार्यलाई गति दिन र प्रशासनिक झन्झट कम गर्न यी नयाँ परियोजनाहरूलाई छरितो स्वीकृति प्रक्रियाबाट अघि बढाइएको थियो। यसले दशकौँदेखि चलिआएको आवासको अभाव र देशभरको घरबारविहीनताको संकटलाई समाधान गर्ने राज्यको प्रयासलाई निरन्तरता दिनेछ ।

गभर्नर ग्याभिन न्युसम भन्छन, “क्यालिफोर्नियाले थप घरहरू छिटो निर्माण गर्न ऐतिहासिक लगानी गरेर आवाससम्बन्धी दशकौँको निष्क्रियतालाई उल्ट्याउँदै छ। आजको घोषणाले राज्यभरका समुदायहरूमा थप आवास उपलब्ध गराउन, लागत घटाउन र अझ बढी स्थिरता कायम गर्न मद्दत गर्नेछ। व्यवस्थापिकासँगको सहकार्यमा, हामी प्रशासनिक झन्झट कम गर्ने, वित्तीय अवसरहरू विस्तार गर्ने र आवास निर्माणलाई गति दिने सुधारहरूमार्फत उक्त लगानीलाई टेवा पुर्‍याउँदै छौँ। ती प्रयासहरूले नतिजा दिइरहेका छन्: थप आवास परियोजनाहरू अघि बढिरहेका छन्, थप किफायती घरहरू निर्माण भइरहेका छन् र धेरै क्यालिफोर्नियालीहरूले आफूले पाउनुपर्ने स्थिरता र आश्रय प्राप्त गरिरहेका छन्।”

अप्रिलमा, क्यालिफोर्नियाको आवास तथा सामुदायिक विकास विभाग ले ‘मल्टिफ्यामिली हाउसिङ प्रोग्राम ग्याप फन्डिङ’ अन्तर्गत ‘फन्डिङ उपलब्धताको सूचना’ जारी गर्‍यो; यो निर्माणका लागि आवश्यक पर्ने थप रकममा केन्द्रित क्यालिफोर्नियाको पहिलो एनओएफए थियो। राज्यको करिब २३९ मिलियन डलरको लगानीले स्वास्थ्य, जलवायु र पारिवारिक स्थिरताका लागि राम्रो नतिजा हासिल गर्न कम आय भएका क्यालिफोर्नियालीहरूका लागि थप बहु-पारिवारिक आवास उपलब्ध गराउन सहयोग गर्छ।

“राज्यको किफायती आवास संकट अन्त्य गर्ने सवालमा क्यालिफोर्नियाले ढिलासुस्ती गर्न सक्दैन,” क्यालिफोर्नियाका आवास तथा घरबारविहीनता मामिला सचिव टोमिकिया मसले भन्नुभयो। “यी महत्त्वपूर्ण कोषहरूलाई छिटो र प्रभावकारी रूपमा स्वीकृति दिँदा राज्यभरि अति आवश्यक किफायती भाडाका घरहरू योजना चरणबाट अघि बढ्न, निर्माण सुरु गर्न र खाँचोमा परेका परिवारहरूका लागि ढोका खोल्न सक्षम हुने सुनिश्चित हुन्छ।”

निर्माणका लागि तयार नयाँ परियोजनाहरूको समीक्षा छरितो प्रक्रियामार्फत गरियो, जसले गर्दा मात्र चार महिनामा अनुदानको घोषणा गर्न सम्भव भयो र परियोजनाहरूलाई निर्माण कार्यमा छिटो अघि बढ्न आवश्यक गति र निश्चितता प्रदान गर्‍यो।

यो कोष ती परियोजनाहरूलाई प्रदान गरियो जसले अहिलेसम्म कर-मुक्त बन्ड मार्फत वित्तपोषण वा कम आय भएकाहरूका लागि कर छुट प्राप्त गरेका छैनन् र जसले कम आय भएका क्यालिफोर्नियालीहरूका लागि किफायती आवास विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

“यो नवीन वित्तीय समाधानले क्यालिफोर्नियामा अति आवश्यक किफायती आवास समुदायहरूको निर्माण रोकिरहेका लागतसम्बन्धी चुनौतीहरूको प्रत्यक्ष रूपमा सामना गर्छ,” एचसीडिका निर्देशक गुस्ताभो भेलास्क्वेजले भन्नुभयो। हाम्रो टोलीले विकास गरेका सुव्यवस्थित प्रक्रियाहरू प्रयोग गरी यी परियोजनाहरूलाई यति छिटो पूर्ण रूप दिन सकेकोमा मलाई असाध्यै गर्व छ।

आजको घोषणाको अतिरिक्त, गभर्नर न्यूसमले राज्यभरि एउटा संरचनात्मक र आधारभूत मोडेल सिर्जना गर्दैछन् जसले आउने पुस्ताहरूमा सकारात्मक प्रभाव पार्नेछ।

गभर्नरले मतदाता-अनुमोदित प्रस्ताव १ मार्फत नयाँ आवास निर्माण, नयाँ आश्रय, आवास र समर्थनलाई कोष प्रदान गर्ने, मानसिक स्वास्थ्य र घरबारविहीनतामा यसको प्रभावलाई सम्बोधन गर्ने, र अद्यावधिक गरिएको संरक्षक कानून र नयाँ सीएआरई अदालत प्रणाली मार्फत सबैभन्दा बढी आवश्यक पर्नेहरूका लागि नयाँ मार्गहरू सिर्जना गर्ने कार्यलाई सुव्यवस्थित र प्राथमिकता दिइरहेका छन्। क्यालिफोर्नियाले मानिसहरूलाई सडकबाट हटाउन र हेरचाहमा ल्याउन राज्यव्यापी शिविरहरूलाई पनि सम्बोधन गरिरहेको छ। यो सबै कामले सकारात्मक परिणामहरू सिर्जना गरिरहेको छ।

क्यालिफोर्नियाको लगानीले तत्काल, मापनयोग्य परिणामहरू र अन्ततः क्यालिफोर्नियाको आवास र घरबारविहीनता संकट समाधान गर्न आवश्यक महत्वपूर्ण आधार सिर्जना गरेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्