साहित्य समाचार

वरिष्ठ साहित्यकार विमलको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने

जनकपुरधाम । नेपाली, मैथिली, हिन्दी तथा अङ्ग्रेजी भाषाका प्रकाण्ड विद्वान तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको अन्त्येष्टिमा नेपाल सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । वरिष्ठ साहित्यकार विमलको अन्त्येष्टि कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलले राष्ट्रिय सम्मान अर्पण गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको हो ।

उहाँलाई नेपाल प्रहरीको एक टुकडीले राष्ट्रिय सम्मान अर्पण गर्ने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जानकारी दिनुभयो । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नंं १० निवासी डा. विमलको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा निधन भएको थियो ।

उहाँ विगत केही समयदेखि श्वासप्रश्वास, निमोनिया तथा मुटुसम्बन्धी समस्याले पीडित हुनुहुन्थ्यो । उहाँको आजै दिउँसो ३ः ३० बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने भएको स्वर्गीय विमलका ज्येष्ठ सुपुत्र डा. अभाष लाभले जानकारी दिनुभयो ।

नेपाली, मैथिली, हिन्दी तथा अङ्ग्रेजी साहित्य क्षेत्रमा विशिष्ट योगदान दिनुभएका डा. विमलका कृतिहरू ‘राजेन्द्र विमलका कथाहरू’, ‘खहरेको तिर्खा’, ‘मिथिलाको इतिहास, संस्कृति र कला परम्परा’, ‘गद्य, पद्य र नाटक’ तथा बाल साहित्यतर्फ ‘फिस्टी रानी’ लगायत प्रकाशित भएका छन् ।

मैथिली भाषामा ‘इतिहासक घाओ’, ‘पचास वर्ष मैथिली कथा’, ‘ई हमरे कथा थिक’, ‘सूर्यास्तसँ पहिने’ तथा ‘सीता’, ‘नौटङ्की चलिरहल अछि’, ‘दोहाइ बाबा भुँइयाँ’जस्ता कृति प्रकाशित भएको छ ।  समाजमा देखिएका विकृति, राजनीतिक विसङ्गति, सामाजिक विभेद, गरिबी, उत्पीडन र सीमान्तकृत समुदायका समस्या उहाँका कथाका विषय बन्दै आएका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्