अर्थ

आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज वाणिज्य बैंकका प्रमुख कार्यकारीसँगको छलफलमा मन्त्री वाग्लेले  सरकारको अबको ध्यान उक्त बजेटको कार्यान्वयनमा  रहेकाले सहयोग सुझाव दिन आग्रह गर्नुभयो ।

उहाँका अनुसार बैङ्किङ प्रणालीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन के–कस्ता संरचनागत सुधार आवश्यक छन् । मौद्रिक नीति, नियमन र सुपरिवेक्षणमा अब कुन नयाँ दृष्टिकोण अपनाउनुपर्छ, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क र बैङ्किङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा मन्त्री वाग्लेले राय सुझाव माग्नुभएको मन्त्री वाग्लेका स्वकीय सचिवालयले जनाएको छ ।

“हामी सबैको साझा लक्ष्य नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउने, लगानी वृद्धि, उत्पादन विस्तार, रोजगारी सिर्जना र निजी क्षेत्रको आत्मविश्वास पुनः स्थापित गर्ने हो”, मन्त्री वाग्लेले भन्नुभयो, “वाणिज्य बैङ्कहरू अर्थतन्त्रका सबैभन्दा महत्त्वपूर्ण सङ्गम हुन् । यहाँ बचतकर्ता आउँछन् । उद्यमी पनि आउँछन्, किसान पनि आउँछन्, उद्योगी पनि आउँछन्, लगानीकर्ता पनि आउँछन् र नयाँ व्यवसाय सुरु गर्न चाहने युवा पनि आउँछन्, त्यसैले अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास, लगानीकर्ताको सोच र भविष्यप्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा यहाँहरूले नै महसुस गर्नुहुन्छ ।”

उहाँले सरकारका तर्फबाट आफूहरू नियामकीय, कानुनी र संस्थागत सुधारको प्रक्रिया अगाडि बढाइरहेको जनाउँदै बैङ्किङ प्रणालीमा रहेको अधिक तरलता, उत्पादन र लगानीमा किन रूपान्तरण हुन नसकेको भन्नेमा स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

“हामी अर्थतन्त्रलाई प्रतिक्रियात्मक ढङ्गले होइन, आत्मविश्वासले भरिएको भविष्यप्रति आशावादी अर्थतन्त्र बनाउन चाहन्छौँ । बैङ्किङ क्षेत्रसँगको आवधिक संवादका रूपमा होइन, नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनाउने कार्यशालाका रूपमा अघि बढाऔँ”, मन्त्री वाग्लेले भन्नुभयो, “सरकार र बैङ्किङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमित निकायको मात्र होइन साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हो । आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्व हाम्रो साझा उद्देश्य हो ।”

उहाँले आपसमा विश्वास निर्माण गरेर लगानी विस्तार गर्ने, उत्पादन बढाउने र नेपाललाई उच्च वृद्धि तथा उच्च उत्पादकत्वको नयाँ चरणमा प्रवेश गराउने रहेको पनि स्पष्ट गर्नुभयो । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्