डायस्पोरा

कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह 

कुवेत। कुवेतस्थित नेपाली राजदूतावासले कुवेत तथा इराकमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षा र सतर्कताका लागि आग्रह गरेको छ।

राजदूतावासले कुवेत तथा इराकका आधिकारिक निकायबाट जारी हुने सूचना, निर्देशन र समाचार मात्र विश्वास गरी त्यसको पूर्ण पालना गर्न तथा अफवाहको पछि नलाग्न आग्रह गरेको हो।

साथै अफवाहपूर्ण सामग्री सामाजिक सञ्जालमा साझा नगर्न पनि अनुरोध गरिएको छ।

त्यसैगरी, सम्बन्धित सरकारले प्रतिबन्ध लगाएका कुनै पनि गतिविधिमा संलग्न नहुन र अरूलाई पनि त्यस्ता कार्य नगर्न प्रेरित गर्न राजदूतावासले आग्रह गरेको छ।

राजदूतावासले कुवेत सरकारले जारी गरेको सुरक्षा निर्देशनअनुसार आकाशमा देखिने हवाई आक्रमण वा प्रतिरक्षा सम्बन्धी गतिविधि तथा घटनास्थलका तस्बिर वा भिडियो नखिच्न र सामाजिक सञ्जालमा साझा नगर्न  भनेको छ।

यसका साथै, कुनै अपरिचित वा शङ्कास्पद वस्तुको नजिक नजान, साइरन बजेको अवस्थामा बाहिर भए नजिकको सुरक्षित भवनभित्र प्रवेश गर्न तथा भवनभित्र भए सुरक्षित स्थानमै बस्न, सिसाको झ्याल वा बार्दली नजिक नबस्न आग्रह गरिएको छ।

कुवेतमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा वा अन्य आवश्यक सहयोग परेमा नेपाली राजदूतावास, कुवेतमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्