काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताउनुभएको छ ।
एमालेको बागमती प्रदेश जागरण अभियानलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले पार्टी र नेतृत्वमाथि पटक–पटक चौतर्फी आक्रमण हुने गरेको उल्लेख गर्दै सो कुरा बताउनुभएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, “अन्तिममा, पार्टी फुटाएरै छोडे । हामीलाई पार्टीबाट निष्कासन नै गरियो । हामीले पार्टी पुनर्गठन गर्यौँ र फेरि पार्टी जस्ताको तस्तै बनायौँ । २७५ कुल सिटमध्ये १७५ सिट पुर्याएको अवस्थामा अर्थात् दुईतिहाइका लागि मात्र नौ सिट कम भएको अवस्थामा पार्टी फुटाए । अनेक हिसाबले अनेक प्रयास गरेर पार्टी जोगाउन खोजियो, तर जोगाउन मानेनन् ।”
“कहिले एउटाले फुटाउँछ, कहिले अर्काले फुटाउँछ । हामी पार्टीबाट निकालियौँ, पुनर्गठन गरेर पनि हामीले उहाँहरूको पदहरू जस्तै वरिष्ठ नेता, उपाध्यक्ष, सचिव, उपसचिव कुनै पदबाट कसैलाई निकालेनौँ । जस्ताको तस्तै राखेर पार्टी जोगाउने कोसिस गर्यौँ,” उहाँले भन्नुभयो, “पुसमा उहाँहरूले हामीलाई पार्टी सदस्यताबाट निकाल्नुभयो, भदौ १० गते उहाँहरूले पार्टी फुटाउँदा पनि हाम्रो जोगाउने प्रयास रहिरह्यो ।”
उहाँले वि.सं. २०५१/५२ सालमा एमालेले चुनाव जित्ने निश्चित भएको अवस्थामा पार्टीविरुद्ध देशद्रोही भनेर भ्रमपूर्ण हल्ला फिजाउने काम भएको स्मरणसमेत गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “२०५१/५२ सालपछि हाम्रो पार्टीले निश्चित रूपमा चुनाव जित्ने अवस्था भयो । पार्टीप्रतिको जनआकर्षण व्यापक भयो । यो देशभक्त र राष्ट्रवादी पार्टीलाई स्पष्ट ढङ्गले सङ्घर्ष गर्ने पार्टीका रूपमा स्थापित हुन नदिन राष्ट्रघाती पार्टी भनेर उपद्रो मच्चाइयो । सबभन्दा देशद्रोही पार्टी भनेर हल्ला फिजाएर २०५४ सालमा पार्टी फुटाउने काम भयो ।
पार्टी फुटाइसकेपछि एमालेलाई २०५६ को निर्वाचनमा हराउनका लागि गालीगलौजदेखि अनेकौँ झुटा आरोपहरू लगाइए । जब चुनाव सकियो र एमालेलाई बहुमत आउनबाट रोकियो, त्यसपछि फेरि पार्टी एकताको अभियान सुरु भयो र २०५८ मा पुग्दा हामीले फेरि एकता गर्यौँ ।”