नेपाल

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौँ । नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौँमा सम्पन्न भएको छ ।

बैठकको सह–अध्यक्षता परराष्ट्र मन्त्रालयका युरोप महाशाखाका प्रमुख तथा सहसचिव गणेशप्रसाद ढकाल र डेनमार्कको परराष्ट्र मन्त्रालयअन्तर्गत एसिया, ओसियानिया, ल्याटिन अमेरिका तथा क्यारिबियन विभागका निर्देशक क्रिस्टियन टोबियास बायर टाइगेसनले गर्नुभएको थियो ।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय तथा विभिन्न क्षेत्रगत मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो भने डेनमार्कको प्रतिनिधिमण्डलमा नेपालका लागि डेनमार्कका गैरआवासीय राजदूत रास्मुस अबिल्डगार्ड क्रिस्टेन्सेन तथा नयाँ दिल्लीस्थित डेनमार्क दूतावासका अन्य अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

दुवै पक्षले द्विपक्षीय सम्बन्धका विविध पक्षको समीक्षा गर्दै सन् १९६७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र डेनमार्कबीच कायम रहँदै आएको आत्मीय र मैत्रीपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गरेका थिए । साथै, आगामी दिनहरूमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धता पुनः व्यक्त गरेका मन्त्रालयले जनाएको छ ।

दुवै पक्षले सन् २०२७ मा नेपाल–डेनमार्क कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउने सहमतिसमेत जनाएका छन् । नेपाल र डेनमार्क दुवै देशमा हालै सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन भएको सन्दर्भलाई स्मरण गर्दै दुवै पक्षले नयाँ राजनीतिक जनादेशले साझा हितका क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा सहकार्यलाई विस्तार गर्न नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

सुशासन, पारदर्शिता, दिगो विकास तथा लोकतान्त्रिक मूल्यप्रतिको साझा प्रतिबद्धताका आधारमा सहकार्य अघि बढाइनेमा दुवै पक्षले जोड दिएका छन् ।

नेपाली पक्षले विदेशी लगानीका लागि अझ अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले सरकारले अवलम्बन गरिरहेको आर्थिक सुधार तथा विभिन्न उपायबारे जानकारी गराएको थियो । प्रतिनिधिमण्डलहरूबीच स्वच्छ ऊर्जा, व्यापार तथा लगानी, पर्यटन, सूचना प्रविधि तथा डिजिटल नवप्रवर्तनका क्षेत्रमा आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने अवसरहरूबारे छलफल भएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्