मनोरंजन

आमाछोरीको कथा ‘लालीबजार’

काठमाडौँ । षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ को ट्रेलर सार्वजनिक गरिएको छ ।  

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा अभिनेतृ स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ । उक्त चलचित्रको ट्रेलरमा आमा र छोरीबिचको कथा देखाइएको छ । बादी समुदायका महिलाको भूमिकामा अभिनेतृ स्वस्तिमा प्रस्तुत हुनुभएको छ । ट्रेलरमा स्वस्तिमासँगै रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, बालकलाकार समाइरा थापासँगै प्रशंसा सुवेदी र विशाल देवकोटा देखिनुभएको छ । प्रशंसा र विशालको यो पहिलो चलचित्र हो । अभिनेतृ स्वस्तिमाले चलचित्र आमाको सङ्घर्ष र सफलताको कथा रहेको बताउनुभयो । उहाँका अनुसार, “लालीबजार मेरा लागि विशेष फिल्म बनेको छ । मैले गरेका चलचित्रमा धेरै समयमा सम्झिने र आगामी धेरै वर्षसम्म कुरा हुने चलचित्रमा यो पर्ने छ । म यो कथालाई लिड गर्न पाउँदा वा आमाको कथा प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छु ।” अभिनेता बानियाँले चलचित्रले एउटी महिलाको जीवनका विभिन्न आयामलाई समेटेको बताउनुभयो । “हामीले एउटा सेटअपमा चलचित्रको कथा व्यक्त गरेका छौँ तर यो आमा र छोरीको कथा हो । बाध्यता, विवशता, सङ्घर्ष र सफलतालाई यसमा देखाइएको छ,” उहाँले भन्नुभयो ।

निर्माता म्याक्स दिपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आटर्सले ‘जात्रा’, ‘जात्रैजात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल चलचित्र निर्माण गरिसकेका छन् । यस चलचित्रमा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिनुभएको छ ।

चलचित्रको कथा निर्देशक थापाले नै लेख्नुभएको हो, त्यसकारण यसलाई उहाँले नै नयाँ गर्न सक्नुहुन्छ भन्ने लागेर हामीले निर्देशनको प्रस्ताव गरेका हौँ । अहिले हामीले सही निर्णय गरेका थियौँ भन्ने लागेको छ, चलचित्रमा निर्देशकको दिमागसँगै उहाँको देखाइ र बुझाइ मिसिएको छ,” कार्यकारी निर्माता भट्टराईले भन्नुभयो ।

निर्देशक थापाले आमाछोरीको कथामा चलचित्र तयार भएको बताउनुभयो । “मैले धेरै अगाडिदेखि देख्दै र बुझ्दै आएको एउटा कथालाई फिल्मको स्वरूप दिएको छु । यो आमा र छोरीको कथा हो, जो बादी समुदायका छन् । फिल्मले हाम्रो समाजको एउटा पाटोलाई चित्रण गरेको छ । यो चलचित्रले हामीलाई सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु,” निर्देशक थापाले भन्नुभयो ।

वैशाख १८ गते प्रदर्शन हुने चलचित्रका अन्य कलाकारमा अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरबल चौधरीलगायत रहनुभएको छ । चलचित्रको कार्यकारी निर्मातामा प्रदीप भट्टराई रहनुभएको छ भने म्याक्स दिपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुनुहुन्छ । चलचित्रमा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायाङ्कन निर्देशक सुसन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रूपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समीर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउन्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट) कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपुत, खेम सेन्चुरी र जयन जे वाइबाको रहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्