डायस्पोरा

अमेरिकामा नेपाली बौद्ध भिक्षुहरुको विश्व शान्तिका लागि पदयात्रा बिहिबार समापन

लस-एन्जलस । टेक्ससको फोर्ट वर्थस्थित हुङ दाओ विपश्यना केन्द्रबाट बौद्ध भिक्षुहरूले शुरु गरेको ‘शान्तिका लागि पदयात्रा’ ११० दिनको निरन्तर हिँडाइ पश्चात फेबु्रअरी १२ तारिखका दिन मेरिलैण्डमा पुगेर बिहिबार समापन हुँदैछ।

विश्व पुनः युद्धतर्फ धकेलिँदै गएको वर्तमान परिस्थितिमा यो अभियानले मानव चेतनालाई शान्ति, विनम्रता र करुणातर्फ ध्यान आकृष्ट गर्न विश्व शान्तिका लागि पदयात्रा आयोजना गरिएको हो । पदयात्राको क्रममा भिक्षुहरूले प्रत्येक राज्यमा पुगेर ध्यान, प्रवचन र अन्तरसंवादमार्फत शान्तिको सन्देश प्रवाह गरिरहेका छन्।

एकता, करुणा, र शान्तिका लागि भनेर शुरु गरिएको पदयात्रामा बौद्ध भिक्षुहरूका साथमा ‘आलोका’ नामको एक कुकुरले पनि विश्व शान्तिका लागि पदयात्रामा सहभागिता जनाएको छ।

टेक्सस देखि मेरिलैण्ड सम्मको २३०० माइल (३६८० किमि) दुरीको शान्तिका लागि पैदल यात्रा बौद्ध भिक्षुहरूका लागि परम्परा नै रहेको पाइन्छ ।

विश्वका विभिन्न देशहरूमा रहेका बौद्ध भिक्षुहरूले विभिन्न स्थानमा यस प्रकारका पैदल यात्रा गरिरहेका हुन्छन् । तर यस पटकको यो यात्राले सम्पूर्ण अमेरिका निवासीहरू लगायत विश्वकै ध्यान आकर्षण गर्न सकेको पाइन्छ। पदयात्रामा सहभागी भिक्षुहरूका अनुसार ‘शान्ति हरेक व्यक्तिको हृदयबाट शुरु हुन्छ र यो यात्रा विश्व शान्तिको लागि हो।

शान्तिका लागि पदयात्रा अभियानको मूल उद्धेश्य आत्मिक शान्ति, सामाजिक सद्भाव, करुणा र अहिंसाको सन्देश फैलाउने, विश्व शान्ति र भाइचाराको आवश्यकता स्मरण गराउनु रहेको पदयात्राका संयोजक नेपाली मुलका डा. निरज बज्राचार्यले जानकारी दिएका छन् ।

विश्व शान्तिका लागि पदयात्राको १०९ दिन पूरा भइसकेकोछ। बुधबार आज १०९ औँ दिनका कार्यक्रमहरू अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा भएकोछ र समापनमा सर्वसधारणलाई शान्ति पदयात्री बौद्ध भिक्षुहरूबाट सम्बोधन तथा ध्यान लगायतका कार्यक्रमहरू आयोजना गरिएकोछ।


यो शान्ति यात्राले अमेरिकाभर हजारौँ अमेरिकी नागरिकहरूको अभूतपूर्व समर्थन पाएको छ। विश्व शान्तिका लागि पदयात्राका क्रममा स्थानीय समुदायहरूले बाटोमा भिक्षुहरूको स्वागत, खाना, आवास र आवश्यक सहयोग, शान्ति सम्बन्धी कार्यक्रममा सक्रिय सहभागिता र प्रत्येक राज्यमा पुग्दा त्यहाँका गभर्नर, सिनेटर र कंग्रेस सदस्यहरूले शान्ति सम्बन्धी विशेष घोषणापत्र जारी गरी भिक्षुहरूलाई सम्मान गर्दै आएका छन्।

त्यसैगरी स्थानीय प्रहरी, सेरिफ र सुरक्षाकर्मीहरूले पूर्ण सम्मान र उच्चस्तरीय सुरक्षा प्रदान गर्दै यात्रालाई साथ दिइरहेका छन्।

अमेरिकामा विश्व शान्तिका लागि पदयात्राकोसंयोजन, व्यवस्थापन र मार्गदर्शन नेपालका बौद्ध धर्म तथा शान्ति अभियन्ता डा. निरज बज्राचार्यले गरेका छन् ।

अमेरिकामा नेपाली बौद्ध भिक्षुको नेतृत्वमा विश्व शान्तिका लागि गरिएको यो अभियानले नेपाललाई पनि शान्ति र आध्यात्मिकताको भूमिका रूपमा विश्वमाझ चिनाउने विश्वास गरिएको छ।

यात्राको अन्तिम ११० औँ दिन वाशिंगटन डिसीमा विशेष कार्यक्रम आयोजना गरि मेरिलैण्डमा समापन गरिनेछ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.