राजनीति

समानुपातिकको सूची बनाउन कांग्रेसको मापदण्ड, कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर । नेपाली कांग्रेसले फागुन २१ गतेका लागि तय भएको समानुपातिकतर्फका उम्मेदवारको नामावली चयन प्रक्रिया प्रारम्भ गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन गर्ने निर्णय गरेको हो । 

बैठकले वर्तमान विकसित राजनीतिक अवस्था र आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीलाई सुसङ्गठित बनाउने निर्णय गरेको छ । साथै पार्टीभित्र बृहत् एकता कायम गर्दै सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दिगो विकाससँगै संविधानको रक्षा गर्नुपर्ने राष्ट्रिय दायित्वलाई हृदयङ्गम गरी आगामी दिनमा पार्टी हितविपरीत हुने गरी अनुशासन उल्लङ्घनका कुनै पनि कार्य नगर्न नगराउन सचेत गराउने निर्णय भएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासनविपरीतका काम गरेकालाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरिएको छ । बैठकले यसरी कारबाही माफी/मिनाहा भएका व्यक्तिको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।

कांग्रेसले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीलाई पार्टीमा फर्कन आह्वान गरेको छ । मुख्यसचिव पौडेलले त्यसरी फर्किने साथीलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय भएको बताउनुभयो ।

कांग्रेसले पेसा, व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिलाई कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ । बैठकले अहिलेको परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि वौद्धिक र व्यावसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ । कांग्रेस कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्ने छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.