डायस्पोरा

पोर्चुगलमा मनाइयो ‘विश्व ध्यान दिवस’

लिस्बन। ‘विश्व शान्ति र सद्भावका लागि ध्यान’ भन्ने मूल नाराका साथ युरोपेली मुलुक पोर्चुगलमा पनि विश्व ध्यान दिवस मनाइएको छ।

लिस्बनस्थित रहेको नेपाली दूतावासले आइतबार ध्यान शिविरको आयोजना गरेर विश्व ध्यान दिवस मनाएको हो। दूतावासको सभाहलमा भएको ध्यान शिविरमा जीवन विज्ञानका प्रशिक्षकद्वय लभ्लीप्रसाद शर्मा र विजेन्द्र लामाले सहभागीहरूलाई ध्यानको प्रयोगात्मक अभ्यास गराउनुका साथै तनाव व्यवस्थापन, मानसिक स्वास्थ्य र ध्यानका विविध पक्षका बारेमा प्रशिक्षण दिएका थिए।

सो अवसरमा बोल्दै पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले ध्यान अत्यन्तै उपयोगी रहेको बताए। उनले तनाव व्यवस्थापन, सकारात्मक उर्जा र सफल जीवनका लागि ध्यानले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। ध्यान शिविरमा दूतावासका कर्मचारीलगायत नेपाली समुदायको सहभागिता रहेको थियो।

सरकारले नियोगलाई ध्यान शिविर सञ्चालन गर्न निर्देशन दिए बमोजिम ध्यान शिविरको आयोजना गरी विश्व ध्यान दिवस मनाइएको दूतावासका प्रथम सचिव रामबाबु नेपालले जानकारी दिए। ध्यानले शारीरिक, मानसिक तथा सामाजिक रूपमा लाभ पुग्ने भएकाले पोर्चुगलमा रहेका नेपाली संघसंस्थासँग समन्वय गरेर ध्यान शिविरलाई निरन्तरता दिने दूतावासको योजना रहेको उनले बताए। ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.