साहित्य

वैरागी काइँला र काशीनाथ तमोटलाई षडानन्द पुरस्कार प्रदान

काठमाडौँ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले साहित्य, कला, इतिहासलगायतका क्षेत्रमा योगदान पुर्याउनु भएका दुई सर्जकलाई सम्मान, पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले मङ्गलबार राजधानीमा आबाल ब्रह्मचारी षडानन्दको १९१ औँ जन्मजयन्ती र १८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार, मुन्धुमविद् तिलविक्रम नेम्वाङ (वैरागी काइँला) र नेवार संस्कृति, भाषा तथा वाङ्मयका अध्येता सहप्राध्यापक काशीनाथ तमोटलाई पुरस्कृत गरिएको हो । कवि वैरागी काइँलालाई षडानन्द राष्ट्रिय पुरस्कार एक लाख रुपियाँ नगदसहित र सहप्राध्यापक काशीनाथ तमोटलाई ५१ हजार रुपियाँ नगदसहित षडानन्द क्षेत्रीय पुरस्कार प्रदान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष प्रा. चेतोनाथ गौतमको सभापतित्वमा आयोजित कार्यक्रममा साहित्यकार शशि लुमुम्बुले मुन्धुमविद् साहित्यकार वैरागी काइँलाको जीवनीबारे प्रकाश पार्दै उहाँले सिङ्गै जीवन साहित्यका लागि अर्पण गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानको जिम्मेवारी पदमा रहँदा मातृभाषा विभागको गठन गरेर भाषाको प्रवर्धनका लागि समेत योगदान दिनुभएको बताउनुभयो ।

त्यसै गरी सहप्राध्यापक तमोटको जीवनबारे दयाकृष्ण न्यौपानेले चर्चा गर्दै नेपाल भाषा, संस्कृतिका अध्येता तमोटले यसको प्रवर्धन र नेपाली साहित्यको उत्थानका लागि ठुलो योगदान दिनुभएको बताउनुभयो । षडानन्द सीताराम गुठीको वर्तमान अवस्थाको अध्ययन प्रतिवेदनको योग तथा तन्त्रविद् प्रा. विद्यानाथ उपाध्याय भट्ट, प्रतिष्ठानका अध्यक्ष प्रा. चेतोनाथ गौतम, कवि वैरागी काइँलालगायतले लोकार्पणसमेत गर्नुभएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष प्रा. लालानाथ सुवेदीले षडानन्द सीताराम गुठीको वर्तमान अवस्थाको प्रतिवेदनबारे चर्चा गर्दै सो गुठीका विभिन्न क्रियाकलाप र शिलालेख, इतिहासबारे बताउनुभएको थियो र अझै अध्ययन जारी रहेको जानकारी दिनुभयो । प्रतिष्ठानका सचिव प्राडा बद्रीविशाल भट्टराईले नेपाली साहित्य, शिक्षा र संस्कृतिको उत्थानका लागि योगदान दिनुभएका आबाल ब्रह्मचारी षडानन्दको कृतित्वको प्रचार, प्रवर्धनका लागि प्रतिष्ठानले  निरन्तर काम गरिरहेको बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्