राजनीति

एमालेद्वारा महेश बस्नेतको नेतृत्वमा ‘यूथ भोलेन्टियर फोर्स’ घोषणा

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ‘यूथ भोलेन्टियर फोर्स’ गठनको घोषणा गरेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भक्तपुरको गुण्डुमा जनसङ्गठन समन्वय संयन्त्रले आज आयोजना गरेको विशेष भेलाले फोर्स गठनको घोषणा गरेको हो ।

एमालेको शनिवार बसेको सचिवालय बैठकले गरेको निर्णय आजै कार्यान्वयन गर्दै एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नेतृत्वमा आज नौ सदस्यीय कमिटी घोषणा गरिएको हो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले बस्नेतको संयोजकत्वमा विनोद पाण्डे, शमिक बडाल, मीनबहादुर शाही, पुष्प श्रेष्ठ, वचन देउजा, विनिता काफ्ले, महेश चौलागाईं, निशा लिम्बू गरी नौ जना सदस्य रहने गरी कार्यसमिति घोषणा गरिएको बताउनुभयो ।

उहाँले जिल्ला जिल्लामा फोर्स गठन गरी देश, पार्टी र पार्टी नेताको सुरक्षाका साथै देशमा सामाजिक सेवामा समर्पित रहने गरी फोर्सको परिचालन गरिने बताउनुभयो । विशुद्ध सामाजिक सेवा र जनतासँग प्रत्यक्ष जोडिने गरी फोर्स परिचालन हुने भन्दै ढकालले कम्तीमा एक लाख युवा कार्यकर्ता फोर्समा आबद्ध गराइने बताउनुभयो ।

नेता बस्नेतले भक्तपुरबाट पहिलो पटक यूथ भोलेन्टियर फोर्सको घोषणा गरेको बताउँदै भक्तपुरबाहेक ललितपुर, काठमाडौँ, काभ्रे, रामेछापलगायतका जिल्लामा घोषणा तयारी भइरहेको र सबै जिल्लामा क्रमशः घोषणा गर्ने बताउनुभयो ।

उहाँले आगामी मङ्सिर ५ गते बानेश्वरबाट फोर्सको औपचारिक घोषणा गर्ने र फोर्सलाई ६ गते काठमाडौँमा हुने पार्टीको बागमती प्रदेशको भेला तथा पार्टीको महाधिवेशनमा परिचालन गरिने बताउनुभयो ।

कार्यक्रममा एमाले ओलीले गुण्डुमा पार्टी नेताका सुरक्षाका लागि खटिएका भूपू सैनिक सङ्गठन, युवा सङ्घ, एमाले भक्तपुर जिल्ला कमिटीलगायतलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्