नेपाल

सिरहा कारागारमा झडप, १३ कैदीबन्दी घाइते

सिरहा । सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएका छन् । कारागारभित्र आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा विवाद चर्किएपछि झडप भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालले जानकारी दिनुभयो ।     

“नाइके को हुने भन्ने विवादले दुई समूहबीच झडप भएको हो । घाइतेहरूलाई तत्काल प्रादेशिक अस्पताल सिरहा पठाइएको छ”, उहाँले भन्नुभयो, “सुरक्षाका दृष्टिकोणले पनि थप उपचारका लागि उनीहरूलाई आजै काठमाडौँ पठाउने तयारी भइरहेको छ ।”

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली तत्काल कारागार पुगेको थियो । हाल अवस्था नियन्त्रणमा रहेको र झडपको विषयमा थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ ।

सिराहा कारागार १५० कैदीबन्दी राख्ने क्षमताको भए पनि हाल ४५८ जना कैदीबन्दी राखिएको छ । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिँदा आन्तरिक व्यवस्थापनमा समस्या देखिएको छ ।

शनिबार मात्रै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले कारागार अनुगमन गरेको थियो । अनुगमनका क्रममा कुनै असहज अवस्था नरहेको बताइएको थियो । त्यसको भोलिपल्टै झडप हुनुले कारागार व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।

यसअघि पनि कारागारभित्र आपराधिक गतिविधि भएको आरोपमा छानबिन समिति गठन गरिएको थियो । डेढ महिनाअगाडि बुझाइएको उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्