एक्सक्लुसीभ

सङ्खुवासभाको मकालुमा पहिराेले दुई सय १८ भेडा पुरियो

संखुवासभा। लगातारको वर्षापछि आएको बाढीका कारण संखुवासभाको मकालु गाउँपालिका–५ फोक्टेस्थित पाखुरी खोलामा ठूलो क्षति भएको छ । बाढीमा परी स्थानीय कृषक दलबहादुर गुरुङका २ सय १८ भेडा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार शनिबार बिहान करिब २ बजे आएको बाढीले चरन क्षेत्रमा रहेका गुरुङका २ सय ५० भेडामध्ये अधिकांश बगाएको हो । हालसम्म ३२ वटा भेडा मात्र जीवित अवस्थामा फेला परेका छन् ।

घटनाका क्रममा भेडा रेखदेखमा खटिएका कमल गुरुङ सकुशल रहेका छन् भने झलक गुरुङको हात र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार बेपत्ता भेडाको खोजी कार्य जारी रहेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी नुमबाट प्रहरी सहायक निरीक्षक कमल श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलतर्फ परिचालन गरिएको मैनालीले जानकारी दिए ।

प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी नुमबाट करिब ४० किलोमिटर टाढा रहेको छ । दुर्गम भूगोलका कारण त्यहाँ पुग्न पैदल करिब १० घण्टा लाग्ने गर्दछ ।

लगातारको वर्षासँगै जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाढीपहिरोको जोखिम बढ्दै गएको भन्दै प्रशासनले स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्