अर्थ

वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व खर्चमा केन्द्रिय बैंकको कडाई

काठमाडौँ। बैङ्क तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व खर्च (सिएसआर) को रकमलाई मनोमानी ढङ्गले खर्च गर्न थालेपछि यसलाई कडाइ गरिने भएको छ ।

बैङ्क तथा वित्तीय संस्था, लघुवित्त संस्था तथा पूर्वाधार विकास बैङ्कले गर्ने संस्थागत सामाजिक उत्तरदायित्व खर्च (सिएसआर) मा नेपाल राष्ट्र बैङ्कले कडाइ गर्न लागेको हो ।

राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन २०८१ संशोधन गर्दै सिएसआरमा शिक्षा, स्वास्थ्य, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्य तथा अन्य क्षेत्र निर्धारण गरेको छ ।

संशोधित मार्गदर्शनका अनुसार बैङ्क तथा वित्तीय संस्थाले अर्धवार्षिक अवधि सुरु हुनुअघि नै सो अर्धवार्षिकभित्र हुने सिएसआर खर्चको सूची राष्ट्र बैङ्कलाई बुझाउनुपर्ने भएको छ ।

सिएसआरमा छुट्याइएको कम्तीमा ६० प्रतिशत रकम सोही वर्षभित्र खर्च गर्नुपर्ने, प्रत्येक प्रदेशमा कम्तीमा १० प्रतिशत खर्च गर्नुपर्ने जस्ता यसअघिका व्यवस्थालाई निरन्तरता दिँदै खर्चका लागि प्राथमिकता प्राप्त क्षेत्रलाई पनि विस्तृत बनाइएको छ । संस्थाको ब्रान्ड प्रवर्धन तथा बजार विस्तार गर्ने उद्देश्यले गरिएका बजारीकरण अभियान, विभिन्न कार्यक्रमको प्रायोजन, राजनीतिक दलका कार्यक्रमलाई गरिएको सहयोग, नाफामूलक कार्य, शुल्क लिई गरिएका कार्यक्रमलाई सिएसआर अन्तर्गत राख्न नपाइने संशोधित मार्गदर्शनमा उल्लेख छ ।

यस्तै ¥याली तथा विज्ञापन जस्ता कार्यमा गरिएको खर्च तथा आफ्नो स्वार्थ जोडिएका प्रभाव समूहका व्यक्ति वा आफूसँग सम्बद्ध व्यक्तिलाई परोपकारका नाममा उपहार वा चन्दा प्रदान गर्ने, पेस्ट वा कार्यक्रममा ब्रान्डिङ हुने उद्देश्यले प्रायोजन गर्ने गरी खर्च गरिने खर्च यस अन्तर्गत राख्न नपाइने व्यवस्था पनि संशोधित मार्गदर्शनमा गरिएको छ । ठुला विकास आयोजनामा गरिने खर्च तथा बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी तथा निजी आयोजनामा गरिने खर्चलाई समेत सिएसआर खर्चमा समावेश नगरिने संशोधित मार्गदर्शनमा उल्लेख छ ।

इजाजतपत्र प्राप्त संस्थाले सहयोग गरेका सम्बन्धित संस्था/लाभग्राहीले प्राप्त गरेको रकम वा सहयोग सोही उद्देश्यमा खर्च भएको प्रमाणित विवरण प्राप्त गरी अद्यावधिक गरी राख्न संशोधित मार्गदर्शनमा भनिएको छ ।

सामाजिक तथा बाह्य वातावरण अझ स्वच्छ, समावेशी, दिगो बनाई गरिब, विपन्न तथा लक्षित वर्गको उत्थान गर्ने कर्तव्य बैङ्क तथा वित्तीय संस्थाको समेत हुने संशोधित मार्गदर्शनमा उल्लेख छ । सिएसआर कोषमार्फत गरिब, विपन्न तथा लक्षित वर्गको हित तथा उत्थानमा योगदान पु¥याउनुपर्नेमा जोड दिँदै मार्गदर्शनले सिएसआर कोष परिचालन गर्दा गरिबीको रेखामुनि रहेकामध्ये पनि चरम गरिबीमा जीवनयापन गरिरहेका समुदायको छनोट/पहिचान गरी त्यस्ता समुदायको हित तथा उत्थानलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ ।

साथै मार्गदर्शनले वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीका साथै लघुवित्त वित्तीय संस्था र पूर्वाधार विकास बैङ्कलाई पनि संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यका लागि रकम छुट्याउनुपर्ने व्यवस्था गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्