नेपाल

भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता

सुर्खेत । भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन् । उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन् । 

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो, “बाढीपछि बेपत्ता भएकाहरु हालसम्म सम्पर्कमा आएका छैनन्, उहाँहरुसित सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन् ।”

बेपत्ताको खोजी गरिदिन गाउँपालिकाका अध्यक्ष बस्नेतले परराष्ट्र मन्त्रालयसँग अनुरोध गर्नुभयो । सोही क्षेत्रमा मजदुरी गर्दै आएका कुशे गाउँपालिकाका अन्य वडाका बासिन्दा पनि सम्पर्कमा नरहेको अध्यक्ष बस्नेतले बताउनुभयो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बाढीमा परेर स्थानीय केही व्यक्ति बेपत्ता भएको कुशे गाउँपालिकाले जानकारी दिएको बताउनुभयो ।

“जिल्लाका सबै स्थानीय तह र त्यहाँ रहेका प्रहरी चौकीलाई पत्राचार गरेर हर्सिल क्षेत्रमा काम गर्न गएका जाजरकोटबासीको नाम सङ्कलन गर्न निर्देशन दिएको छु । गृहमन्त्रालयमा समेत सोही अनुसारको जानकारी गराएको छु”, उहाँले भन्नुभयो ।  रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्