साहित्य

‘भानुभक्त आचार्य नेपाली भाषाका साझा व्यक्तित्व’

काठमाडौँ । साहित्यकार एवं राजनीतिकर्मी नरहरि आचार्यले आदिकवि भानुभक्त आचार्य नेपाल र नेपालीहरूमाझ मात्र सीमित नभएर विश्वभरि छरिएर रहेका नेपाली भाषाहरूको साझा व्यक्तित्वका रूपमा स्थापित नाम भएको बताउनुभएको छ ।

बानेश्वरमा सम्पन्न भानु प्रतिष्ठानको २५औँ साधारण सभामा प्रमुख अतिथिका रूपमा बोल्दै नेता एवं साहित्यकार आचार्यले उक्त कुरा बताउनुभएको हो । लामो विरासत बोकेको भानु प्रतिष्ठानले नेपाली कला र साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै उहाँले भन्नुभयो, “नयाँ कार्यसमितिले संस्थाको पुरानो गरिमामय विरासतलाई कायम राखेर काम गर्ने कुरामा म पूर्ण विश्वस्त छु ।“

साधारण सभाले डिपी अर्यालको अध्यक्षतामा प्रतिष्ठानको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. रमेश शुभेच्छु, महासचिवमा पुरु लम्साल, सचिवमा ओम रिजाल र पुष्कर आचार्य तथा कोषाध्यक्षमा उषा भट्ट चयन हुनुभएको छ ।

त्यसैगरी, कार्यसमिति सदस्यहरूमा सविना बराल, तारादेवी सुनुवार, बलराम दाहाल, सिर्जना अर्याल, रूपेश मण्डल, अर्जुनबाबु दाहाल, मधुसूदन लामिछाने, सदाशय गौतम, भोला चालिसे र प्रज्वल कोइराला निर्वाचित हुनुभएको छ ।

कार्यक्रममा बोल्दै भानु प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा कार्यक्रमका सभापति प्रा. डा. व्रतराज आचार्यले भानुभक्तले नेपाली भाषामा मात्र लेख्नका लागि कसैलाई पनि आग्रह नगरेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “भानुभक्तले जसरी आफ्नो मातृभाषामा लेख्नुभयो, त्यसरी नै अरूलाई पनि आ–आफ्नो मातृभाषामा लेख्नका लागि उत्प्रेरणा जगाउनुभएको थियो ।“

कार्यक्रममा वरिष्ठ कवि एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरेले भानु प्रतिष्ठानको इतिहास उत्खनन गर्दै यस संस्थाले काठमाडौँमा भानु जयन्तीलाई भव्य बनाउँदै आएको विचारका साथ नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिनुभयो ।

वरिष्ठ प्रगतिवादी साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य–सचिव प्राडा. जीवेन्द्रदेव गिरीले भानुभक्तलाई उनको ’वधूशिक्षा’ का केही अंशलाई लिएर आजको समयमा गाली गर्नु सान्दर्भिक नहुने बताउनुभयो । उहाँले भानुभक्तको मूल्याङ्कन उनकै समय अनुसार गरिनुपर्ने र उनलाई नेपाली जातीय कविका रूपमा चिन्नु र चिनाउनु पर्ने विचार राख्नुभयो ।

समारोहमा वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराई र प्राडा. केदार न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

साधारण सभाले प्राडा. वासुदेव त्रिपाठी, डा. तुलसी भट्टराई, डा. रामप्रसाद ज्ञवाली, डा. केदार न्यौपाने, प्रभा भट्टराई, प्राडा. जीवेन्द्रदेव गिरी, प्राडा. विष्णुविभु घिमिरे र प्राडा. व्रतराज आचार्य सम्मिलित सल्लाहकार मण्डल गठन गर्ने पनि निर्णय गरेको छ ।

भानु प्रतिष्ठानले हरेक वर्ष भानु जयन्तीमा भव्य साहित्यिक कार्यक्रमहरू आयोजना गर्नुका साथै नेपाली साहित्यको श्रीवृद्धिका लागि विभिन्न साहित्यिक गोष्ठी र प्राज्ञिक गतिविधिहरू निरन्तर गर्दै आइरहेको छ । 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्