साहित्य

विमल भौकाजीलाई लघुकथा सम्मान

काठमाडौँ । लघुकथा समाज, नेपालले लघुकथा दिवसका अवसरमा ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान– २०८२’ बाट लघुकथाकार विमल भौकाजीलाई सम्मान गरेको छ ।

लेखन, सम्पादन र समालोचनामा सक्रिय साहित्यकार भौकाजीलाई नेपाली साहित्यमा लघुकथाको उन्नयनमा पु¥याएको योगदानबापत सो सम्मान अर्पण गरिएको हो । साहित्यकार भौकाजी ऐतिहासिक साहित्यिक पत्रिका ‘शारदा’ मासिकका सम्पादकसमेत हुनुहुन्छ । १८ औँ लघुकथा दिवसका अवसरमा लघुकथा समाज र सर्वनामको सहकार्यमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सम्मान अर्पण गरियो । लघुकथा समाज, नेपालको स्थापना २०६५ सालमा भएको हो । समाजले हरेक वर्ष भदौ ५ गते लघुकथा दिवस मनाउँदै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ, लघुकथा समाजका अध्यक्ष तुलसीहरि कोइराला, समाजका निवर्तमान अध्यक्ष गोपाल अश्क, संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, प्राडा लक्ष्मणप्रसाद गौतमलगायतले भौकाजीलाई सम्मान अर्पण गर्नुभयो । १० हजार रुपियाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । सो अवसरमा साहित्यकार भौकाजीका दुई लघुकथा ‘प्रत्यारोपन’ र ‘मोह’ मा आधारित नाटक मञ्चनसमेत गरिएको थियो । प्रमुख अतिथि श्रेष्ठले लघुकथाको गरिमा, पाठक र लेखन बढ्दै गएको र जति चोटिलो लेख्दै गयो त्यति नै यसको गरिमा बढ्दै जाने धारणा व्यक्त गर्नुभयो । सम्मानित हुनुभएका साहित्यकार भौकाजीले पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान पाउँदा आफूले गौरव महसुस गरेको बताउनुभयो ।

समाजका अध्यक्ष कोइरालाले नेपाली लघुकथाको लेखन सुरु भएको ७५ वर्षको अवधिमा छ सयको हाराहारीमा लघुकथा सङ्ग्रह प्रकाशित भएको बताउनुभयो । केही समय सुस्ताएको लघुकथाको लेखनमा अहिले जागरण आएको उहाँको भनाइ थियो ।

पहिलो लघुकथासङ्ग्रह ‘झिल्का’ २००७ सालमा प्रकाशन गरेर पूर्णप्रसाद ब्राह्मणले सुरु गर्नुभएको लघुकथा इतिहासको स्मरणमा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ र पूर्णप्रसाद ब्राह्मणका परिवारले सो पुरस्कार स्थापना गर्नुभएको हो । विसं २००७ मा प्रकाशित ब्राह्मणको लघुकथा सङ्ग्रह ‘झिल्का’ लाई नेपाली साहित्यको पहिलो लघुकथासङ्ग्रह मानिएको छ । पूर्णप्रसाद ब्राह्मणको जन्म १९७९ असार शुक्ल एकादशीमा र निधन २०४६ जेठ शुक्ल एकादशीमा भएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्