एक्सक्लुसीभ

भदौ २४ को घटनाको प्रतिवेदन सार्वजनिक गर्न काँग्रेस सभापति थापाको माग

विराटनगर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

शनिबार विराटनगरस्थित ऐतिहासिक कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन न्यायिक आयोग गठन गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

सरकारले मानव अधिकार आयोगको प्रतिवेदन जानीजानी लुकाएको र आयोगमाथि ठुलो दबाब सिर्जना गरेको आरोप लगाउँदै थापाले भने, “प्रतिवेदनमा के छ, त्यो तत्काल सार्वजनिक हुनुपर्छ । सत्य लुकाउने प्रयास लोकतन्त्रका लागि घातक हुन्छ ।”

थापाले सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै कार्यपालिकाले न्यायपालिका र व्यवस्थापिकालाई आफ्नो मातहतमा राख्न खोज्नु कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिए । शक्ति सन्तुलनको सिद्धान्तमाथि प्रहार भएको टिप्पणी गर्दै उहाँले सरकारलाई जिम्मेवार बन्न आग्रह गरे ।

पार्टीको आन्तरिक सन्दर्भमा सभापति थापाले कांग्रेसभित्र देखिएका विमति र असन्तुष्टिलाई व्यवस्थापन गर्दै सबै नेताहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गरे । विशेषगरी अहिले केन्द्रीय समितिभन्दा बाहिर रहेका वरिष्ठ र प्रभावशाली नेताहरूलाई मूलधारमा ल्याउन आफू पूर्ण रूपमा खुला र तयार रहेको थापाको भनाइ थियो ।

“पार्टीभित्रका विमतिहरूलाई सम्बोधन गर्नु सभापतिका रूपमा मेरो जिम्मेवारी हो । म सबै साथीहरूलाई केन्द्रीय समितिभित्र आएर काम गर्न विशेष अनुरोध गर्दछु,” थापाले भने, “अब कसैलाई तिम्रो अनुहारै मन पर्दैन भन्ने लागेको छ भने त बेग्लै कुरा हो, नत्र पार्टीभित्र मिलेर काम गर्ने पर्याप्त ठाउँ छ र त्यसका लागि म वातावरण बनाउन तयार छु ।”

थापाले पार्टीका अनुशासन, निर्वाचन र सदस्यता व्यवस्थापन जस्ता महत्त्वपूर्ण समितिहरू गठन गर्दा सबैको सल्लाह र चित्त बुझ्ने गरी बनाउने धारणा राखे ।

सदस्यता अद्यावधिक गर्ने कार्य पार्टीलाई बलियो बनाउने आधार भएको भन्दै यसमा कसैले अवरोध सिर्जना गर्न नहुने उहाँको तर्क थियो । भोलि उम्मेदवार छान्ने अधिकार सदस्यमै रहने भएकाले संगठन सुदृढीकरणमा सबैको साथ चाहिने उनले बताए ।

कोइराला निवासको ऐतिहासिक गरिमाको स्मरण गर्दै थापाले सभापति भएपछि पहिलो पटक यहाँ आउन पाउँदा आफूलाई गौरव महसुस भएको बताए ।

पार्टीलाई विधानसम्मत ढङ्गले अगाडि बढाउन र जनसरोकारका मुद्दामा सरकारलाई जवाफदेही बनाउन कांग्रेसले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्