राजनीति

नेपाल र भियतनामका उपराष्ट्रपतिबिच भेटवार्ता, धार्मिक सांस्कृतिक पर्यटन प्रवर्धनबारे छलफल

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा आउनुभएका भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबिच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ ।

आज यहाँ भएको भेटमा उहाँहरूबिच दुवै मुलुकमा धार्मिक समानता रहेको र धार्मिक र सांस्कृतिक पर्यटनका प्रचुर सम्भावनाबारेमा छलफल भएको थियो । उहाँहरूबिच मित्रवत्, न्यानो र सौहार्द रूपमा सम्पन्न भेटवार्ता भएको जानकारी गराउँदै परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारी द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय विषयका बारेमा विचार आदानप्रदान भएको बताउनुभयो ।

दुवै मुलुकबिचको सम्बन्ध मित्रता, सद्भावना र सार्वभौमिकताको सम्मानमा आधारित रहेको र अन्तरराष्ट्रिय मञ्चमा साझा धारणाका साथ अघि बढ्ने सम्बन्धमा उहाँहरूबिच कुराकानी भएको थियो । दुवै उपराष्ट्रपतिबिच मन्त्रालयगत र विभिन्न तहमा भ्रमण आदानप्रदान गर्ने सहमति भएकोसमेत भएको छ । सो अवसरमा दुवै मुलुकबिच हवाई सम्बन्ध विस्तारका लागि आपसी छलफल गर्ने विषयमा कुराकानी भएको सहसचिव अधिकारीले बताउनुभयो ।

भियतनाम उच्च आर्थिक वृद्धिदर भएको मुलुक भएकाले नेपालले त्यहाँबाट सिक्नसक्ने र लगानीको सम्भावनाका विषयमा उहाँहरुबीच छलफल भएको सहसचिव अधिकारीले बताउनुभयो । द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधिलगायत विषयमा र जनस्तरको सम्बन्ध अघि बढाउने विषयमा उहाँहरूबिच कुराकानी भएको थियो ।

भियतनामका तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो । यो वर्ष नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ । उपराष्ट्रपति भो थि आन सुआन उपराष्ट्रपति यादवको मैत्रिपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार यहाँ आइपुग्नुभएको हो । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुनुहुने तालिका छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्