राजनीति

निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे आज जानकारी गराइएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकी तुलाधार, सगुन शमशेर जबरासहित उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर सो जानकारी गराउनुका साथै निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो ।

आयोगले निर्वाचनका लागि आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको छ ।

सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगले प्रधानमन्त्रीसँग छलफल तथा परामर्श गरेको छ।

२०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा आज आयोगले प्रधानमन्त्रीसँग छलफल गरेको हो।

छलफलमा आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका लागि हालसम्म गरिएका तयारी तथा सम्पन्न भएका कार्यबारे जानकारी गराउनुभयो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मितव्ययी ढंगले निर्वाचन सम्पन्न गर्न सार्वजनिक निकायमार्फत निर्वाचन सामग्री खरिद, निर्वाचन जनशक्तिको व्यवस्थापन, निर्वाचन सुरक्षा, निर्वाचन आचारसंहिता कार्यान्वयन, निर्वाचन पर्यवेक्षणलगायत विषयमा आयोगले गरेको तयारीबारे विस्तृत जानकारी गराउनुभएको थियो।

आयोगले गरेको तयारीप्रति प्रधानमन्त्रीले सन्तुष्टि व्यक्त गर्नुभयो। छलफलका क्रममा प्रधानमन्त्रीले निर्वाचन स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। साथै निर्वाचनलाई केन्द्रमा राखी निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता–२०८२ छिट्टै लागू गर्ने तयारीमा आयोग रहेको र त्यसको कडाइका साथ पालना गराउन आयोग दृढ रहेको जानकारी पनि प्रधानमन्त्रीलाई गराइएको थियो।

छलफलमा नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, मुख्यसचिव सुमनराज अर्याल, निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत, अर्थ सचिव डा. उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्