राजनीति

निर्वाचनको नतिजा राष्ट्रपतिलाई आज बुझाइँदै

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणाम आज बुझाउने भएको छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फको ११० जनाको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउन लागिएको हो ।  निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन परिणाम बिहीबार अपराह्न ४ बजे राष्ट्रपतिलाई बुझाउने जानकारी दिनुभयो । “हामीले बिहीबार बिहान साढे ११ बजे समानुपातिकतर्फका सांसदको प्रमाणपत्र ग्रहण कार्यक्रम राखेका छौँ । त्यसपछि अपराह्न ४ बजे राष्ट्रपतिज्यूलाई निर्वाचन परिणाम बुझाउने छौँ,” उहाँले भन्नुभयो, “त्यसपछि अपराह्न साढे ५ बजे पत्रकार सम्मेलन गरेर विस्तृत रूपमा बताउने छौँ ।”

आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएपछि संसद् आह्वानसँगै सरकार गठन प्रक्रिया सुरु हुने छ । फागुन २१ गतेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष १२५ सिट र समानुपातिक ५७ सिटसहित कुल १८२ सिटसहित पहिलो दलका रूपमा उदाएको छ । नेपाली कांग्रेस प्रत्यक्षमा १८ सिट र समानुपातिकमा २० सिटसहित कुल ३८ सिट ल्याएर दोस्रो दल, नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रत्यक्षमा नौ सिट र समानुपातिकमा १६ सिट ल्याएर कुल २५ सिटसहित तेस्रो दल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रत्यक्षमा आठ सिट र समानुपातिकमा नौ सिट ल्याएर कुल १७ सिटसहित चौथो दल, श्रम संस्कृति पार्टी कुल सात सिट ल्याएर पाँचौँ दल र राष्ट्रिय प्रजातन्त्र पार्टी कुल पाँच सिट पाएर छैटौँ दल हुन पुगेको छ ।  निर्वाचनबाट राष्ट्रिय दलका रूपमा छ पार्टी मात्रै हुने भएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्