एक्सक्लुसीभ

टोली नेताको भनाइ ‘एमालेको भाबी नेतृत्वमा ओली निर्विकल्प’

ललितपुर । नेकपा (एमाले) विधान महाधिवेशनको तेस्रो दिन समूहगत छलफलको टोली नेताले प्रतिवेदन पेस गरिएको छ । समूहगत नेताहरूले भाबी पार्टी नेतृत्व अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । आइतबार बिहान सनराइज सभाहल गोदावारी, ललितपुरमा समूहगत बैठकको निचोड पेस गर्दै समूहगत नेताहरूले त्यस्तो बताएका हुन् । 

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेनहरूमा केही सुझावसहित मूल अवधारणामा सहमति जनाएका छन् । प्रतिवेदन पेस गर्दै सुदूपश्चिम  प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले भन्नुभयो,  ‘प्रस्तुत प्रतिवेदनमा पूर्ण सहमति छ । अहिले पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको निस्कर्ष हाम्रो समूहको ठहर ।’

त्यसैगरी कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजङ्ग शाहले अघिल्लो वक्ता जैशीको भनाइलाई समर्थन गर्दै भन्नुभयो,  ‘अहिले नेतृत्वलाई थप स्थापित गर्ने समय हो । पार्टी भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प छैन ।’

लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने भएकाले पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभयो । त्यसैगरी गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मिनप्रसाद गुरुङले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई गन्तव्यमा पुर्‍याउन प्रतिवेदनहरुले प्रष्ट दिशानिर्देश गरेको बताउनुभयो ।

बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुङ्गेलले आफ्नो समूहमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु पर्छ भन्ने विधान संशोधनलाई अधिकांशले समर्थन गरेको र केही मत हटाउनु हुँदैन भन्ने सुझाव आएको बताउनुभयो । ढुङ्गेलले भन्नुभयो,  ‘चीन भ्रमणका क्रममा लिपुलेकबारे चीनका राष्ट्रपतिसँग आफ्नो अडान राखेकाले राजनेता केपी शर्मा ओलीलाई हाम्रो समूहको तर्फबाट उच्च सम्मान गर्नुपर्छ भन्ने मत छ ।’

मधेश प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै पार्टीको नेतृत्व दिनुपर्ने बताउनुभयो । पार्टीमाथि देशी–विदेशी शक्तिबाट चौतर्फी आक्रमण भइरहेकाबेला नेतृत्व स्थापित गर्न आगामी महाधिवेशनबाट पुनः नेतृत्व दिनुपर्छ’ मण्डलले भुन्नुभयो ।

कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलले पेस गर्नुभएको विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गर्नुभयो । खतिवडाले भन्नुभयो,  ‘राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक आयोगमा निर्वाचित र नियुक्ति भएकाहरूलाई दैनिक राजनीतिमा नफर्किने कुरा पार्टीको विधान र संविधानमै लेखिनु पर्दछ ।’

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्