साहित्य

एनआरएनए हङकङले विश्वव्यापी इको कविता प्रतियोगिता आयोजना गर्दै

हङकङ । हङकङस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषद्ले वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित विश्वव्यापी इको कविता प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।

प्रतियोगिताका लागि कुल पुरस्कार राशि १ लाख नेपाली रुपैयाँ निर्धारण गरिएको छ । प्रतियोगिताको प्रचार–प्रसार तथा निर्णायक मण्डल गठनका लागि पर्यावरणीय अभियानमा सक्रिय नेपाली पर्या साहित्य प्रतिष्ठानका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष विजय हितानलाई विश्व संयोजकको जिम्मेवारी दिइएको छ ।

महासचिव भविन लिम्बूका अनुसार हितानकै सल्लाहअनुसार रचना पठाउने मिति तथा उत्कृष्ट कविताको घोषणा मिति संशोधन गरी पुनः सूचना प्रकाशित गरिएको हो ।

प्रतियोगितामा सहभागी हुन चाहने रचनाकारले मौलिक तथा नेपाली भाषामा लेखिएको पर्यावरण–केन्द्रित कविता पठाउनुपर्नेछ । कविताको शब्दसीमा अधिकतम ३ सय ५० शब्द निर्धारण गरिएको छ । रचना नेपाली युनिकोड वा प्रीति फन्टमा टाइप गरी एमएस वर्ड वा पीडीएफ फाइलमार्फत पठाउन सकिनेछ ।

फोटो खिचेर पठाइएका वा अन्य फन्टमा लेखिएका रचना अमान्य ठहरिनेछन् । रचनाको साथमा रचनाकारको पूरा नाम, सम्पर्क नम्बर (ह्वाट्सएप सहित), इमेल ठेगाना, स्थायी ठेगाना, हालसालै खिचिएको स्पष्ट फोटो तथा संस्थाले रचना प्रयोग गर्न सक्ने सहमति अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।

रचना प्रतियोगिताको आधिकारिक इमेल वा ह्वाट्सएप नम्बरमार्फत मात्र पठाउन सकिनेछ । प्रतियोगितामा प्राप्त रचनामध्ये उत्कृष्ट २३ कविताहरूको ई–पुस्तिका प्रकाशित गरिनेछ । पुरस्कारतर्फ प्रथम हुने एक जनालाई नेरू ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार नगद राशी दिइनेछ । सान्तवना १० जनालाई जनही २ हजार रूपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

रचना बुझाउने अन्तिम म्याद २०२६ को मार्च २८ तोकिएको छ । प्रतियोगिताको नतिजा विश्व पृथ्वी दिवसका अवसरमा २२ अप्रिल २०२६ साँझ ६ बजे संघको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने जनाइएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्