खेलकुद

आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धामा सहारा र जावलाखेल युथ 

पोखरा । २५ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उपाधिका लागि आयोजक सहारा क्लब र जावलाखेल युथ क्लबबिच शनिबार प्रतिस्पर्धा हुने भएको छ । शनिबार दिउँसो २ बजे पोखरा रंगशालाको फुटबल मैदानमा खेल हुने भएको आयोजक सहारा क्लबले जनाएको छ ।

उपाधिसहित १४ लाख १ हजार रुपैयाँ नगद पुरस्कारसहित इतिहास रच्ने दुवै टोलीले दाबी गरेका छन् । शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दुवै टिमका प्रशिक्षक तथा कप्तानले आफ्नो टिमले जित्ने दाबी गर्नु भएको थियो ।

समूह ‘ए’ बाट सहारा क्लबले सेमिफाइनलमा सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लब लाई सडेन डेथमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । यसअघि क्वाटर फाइनलमा पनि सहाराले नेपाल पुलिस क्लब विरुद्ध सडेन डेथमै जित निकाल्दै अदम्य आत्मबल प्रस्तुत गरेको थियो । लगातार दुई चरण सडेन डेथमा जित्नु सहाराको मानसिक दृढता र दबाब सहने क्षमताको प्रमाण बनेको छ ।

एकातिर सडेन डेथ जितको आत्मबल बोकेको आयोजक सहारा अर्कोतिर निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको जावलाखेल २५ औँ संस्करणको फाइनलमा दुवै टोली इतिहास रच्ने दाउमा छन् ।

हिमश्री फुड्सको उत्पादन ‘रारा’ तयारी चाउचाउको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेताले १४ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा ३ विदेशी टोलीसहित १२ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्