साहित्य

आशाको डोरी

-कृष्ण बाउसे

फुटेको घन्टीको लयमा

लडखडाउँदै बगिरहेका

प्लास्टिकका थोत्रा झोला

र कुच्चिएका बोतलको

चीत्कारले विचलित नबनी

उषाले बिनाभेदभाव

भूगोललाई चुमेको देखेर

प्रदूषित पानीमै पनि

मुस्काउँदै छिन् शुक्लपक्षकी जून ।

दुई किनारका पर्खालको चेपमा

मुस्किलले सास फेरिरहेको

धोबीखोलाको कुहिरोभित्र

दुनियाँ ब्युँझनुअघि नै

उभिएको छ एउटा बकुल्लो ।

नवजात सूर्यको नयनमा जस्तै

उसको मनमा पनि छ आशाको बिस्कुन

नभए पनि खोलामा माछा ।

अचेल बस्तीहरूबाट

पानीको सट्टा

विषादी बग्छ भनेर

कसैले नपारिदिनू बकुल्लाको कानमा ।

आशाको डोरी चुँडिएर

जो पछारिए पनि

आखिर

ब्रह्माण्डको अंश नै खस्ने हो समयको पिँधमा ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्