नेपाल

भीमफेदीमा इभी दुर्घटना, ११ जना घाइते

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका –१ बादरेभीरमा विद्युतीय सवारीसाधन (इभी) दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको इभी आइतबार दिउँसो दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको हो ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी भैँसेबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । घाइतेमध्ये एक परिवारका सदस्यलाई थप उपचारका लागि चितवनस्थित सिएमसी अस्पताल पठाइएको उहाँले बताउनुभयो ।

दुर्घटनामा रौतहटको दुर्गाभगवती नगरपालिका–१ का ३२ वर्षीय राजेश साह, भारतको बिहारस्थित मोतिहारीका ३४ वर्षीय सर्फे आलम, रौतहटकै दुर्गाभगवती गाउँपालिका–१ पिपराटोलका ५० वर्षीय हरि साह, उहाँका छोरीहरू २६ वर्षीया चन्दा कुमारी साह र २३ वर्षीया शिवा कुमारी साह तथा नातिनातिना पाँच वर्षीय आर्यन साह, शान्ति कुमारी साह र शिवान्स साह घाइते भएका छन् ।

त्यस्तै रौतहटको चन्द्रपुर नगरपालिका–११ पडरियाटोलकी २४ वर्षीया सबिता कुमारी चौधरी, यमुनामाई गाउँपालिका–४ यादवटोलका १९ वर्षीय राहुल ठाकुर र धमनामाई नगरपालिका–४ का १६ वर्षीय विजय कुमार ठाकुर घाइते भएका छन् । घाइतेको खुट्टा, नाक, काँध, मुख, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्