दोस्रो शिखर ढकाल स्मृति यू–१७ राष्ट्रिय रग्बी सुरु, उद्घाटन खेल बराबरीमा सकियो
सिन्धुली । दोस्रो शिखर ढकाल स्मृति यू–१७ महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता आइतबार सिन्धुलीको फिक्कलमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ टोखा नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्।
फिक्कल गाउँपालिकाको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा सुरु भएको प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटा र फिक्कल गाउँपालिकाकी अध्यक्ष तथा सङ्घकी बोर्ड सदस्य पार्वती सुनुवारले रेफ्रीलाई बल हस्तान्तरण गरेर संयुक्त रूपमा गरेका थिए।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका विजेता टोलीले ३० हजार रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेता टोलीले २० हजार तथा तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन्। महिला तथा पुरुषतर्फका उत्कृष्ट खेलाडीलाई पनि ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले गाउँपालिकामा सञ्चालन हुने रग्बी जस्तो खेलकुद गतिविधिलाई सधैँ साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। भौगोलिक तथा विकासका दृष्टिले गाउँपालिकालाई जिल्लाको ‘कर्णाली’का रूपमा हेरिए पनि खेलकुद क्षेत्रको विकासमा भने निरन्तर सहयोग गर्ने उनको भनाइ थियो ।
नेपाल रग्बी सङ्घका अध्यक्ष देवकोटाले प्रतियोगिता आयोजना गरेकोमा फिक्कल गाउँपालिकालाई धन्यवाद दिँदै यस्ता प्रतियोगिताले निरन्तरता पाउने विश्वास व्यक्त गरे।
उद्घाटन समारोहमा फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार, उपाध्यक्ष राजु बराल, नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरे, पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर राजनमगर, मधेस प्रदेश खेलकुद परिषद्का बोर्ड सदस्य निशेषकुमार श्रेष्ठ, स्वर्गीय शिखर ढकालका पिता खगेन्द्र ढकाल, विभिन्न वडाका अध्यक्ष, सुनकोसी माध्यमिक विद्यालयकी प्रधानाध्यापक लक्ष्मी घिमिरे तथा बागमती प्रदेश रग्बी सङ्घका बोर्ड सदस्य प्रकाश बराललगायतको उपस्थिति थियो।
प्रतियोगिता लिग तथा नकआउट प्रणालीमा सञ्चालन हुनेछ। पुरुषतर्फ समूह ‘ए’ मा टोखा नगरपालिका, गोलबजार नगरपालिका र फिक्कल गाउँपालिका छन्। समूह ‘बी’ मा बूढानीलकण्ठ नगरपालिका र कटारी नगरपालिका रहेका छन्।
महिलातर्फ समूह ‘ए’ मा टोखा नगरपालिका, गोलबजार नगरपालिका र बूढानीलकण्ठ नगरपालिका छन्। समूह ‘बी’ मा कटारी नगरपालिका, फिक्कल गाउँपालिका र लुम्बिनी नगरपालिका रहेका छन्।