पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन
रसुवा । गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएको ४४ दिनपछि उत्तरगया गाउँपालिकाका स्थानीयवासीको आवतजावतलाई सहज बनाउन आजदेखि पैरेबेँसीबाट नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका-५ स्थित शान्तिबजार जोड्ने गरी तुइन सञ्चालनमा ल्याइएको छ ।
बाढीले आवागमन ठप्प भएपछि उत्तरगया-१, २ र ३ का बासिन्दा लामो समयदेखि यातायातको पहुँचबाट वञ्चित भएका थिए । तुइन सञ्चालनमा आएसँगै स्थानीयको दैनिक आवतजावत र खाद्यान्न ढुवानीमा केही सहजता थपिएको छ । यात्राको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राख्दै तुइनबाट एक पटकमा एक जना मात्र आवतजावत गर्न पाउने व्यवस्था गरिएको स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार तुइनलाई दुवैतर्फबाट सुरक्षित रूपमा तान्न र यात्रुलाई सहयोग गर्न नेपाल रेडक्रस सोसाइटीबाट दुई-दुई जना कर्मचारी तथा स्वयंसेवकको पनि व्यवस्था गरिएको छ । यो वैकल्पिक व्यवस्थाले सडक पुनर्निर्माण नभएसम्मका लागि स्थानीयलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ । रासस