आज राति चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत्को मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशको विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्पाको सम्भावना छ ।
शनिबार देशभर साधारणतया बादल लाग्नुका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।
आइतबार कोशी, लुम्बिनी र सुदूरपशिचम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।