नेपाल

साउनको अन्तिम सोमबार पशुपतिनाथमा दर्शनार्थीको ओइरो 

काठमाडौँ। आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझ पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् ।

बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो । पशुपति प्रस्थान मार्ग गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर, पिङ्गलास्थान र आसपासबाट पनि भक्तजन पशुपतितर्फ जानेक्रम जारी छ । गौरीनगरसम्म लामो लाम पनि लागेको छ ।

यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन एवं विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ । बिहानैदेखि सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि लाम लागेको छ ।

दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी तथा कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक सङ्घ–संस्थाको विशेष सेवा तथा सहभागिता रहेको छ । सवारी आवागमन व्यवस्थित गर्न गौशाला, जयवागीश्वरी, सिफल, मित्र उद्यान, चाबहिल र गौरीनगरमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति छ ।

बिहान ३ः०० बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि राति ८ः०० बजेसम्म खुला रहने छ । विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ः०० बजेसम्म मात्र हुने जनाइएको छ ।

मन्दिर प्रवेशका लागि चारतिरबाट लामको व्यवस्था गरिएको छ । बिहानैदेखि भक्तजन आए पनि लामो समयसम्म लाममा बस्नुपर्ने अवस्था नरहेको कोषले जनाएको छ ।

यसैगरी, पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था पनि गरिएको छ । विभिन्न सङ्घ–संस्थाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

यहाँका प्रसिद्ध शिवालय गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको ‘सानो पशुपतिनाथ’ भनेर चिनिने मक्खन महादेवलगायत ठूला–साना सबै शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको प्रतिनिधिहरूले जनाइएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्