अर्जेन्टिनासँगको विश्वकप हारपछि इजिप्टद्वारा रेफ्री फ्रान्कोइस लेटेक्सियर विरुद्ध फिफामा उजुरी
ईएफएले खेलभरि भएका गम्भीर त्रुटि र असंगत निर्णय प्रक्रियालाई लिएर भीएआर अधिकारीहरूसहित सम्पूर्ण रेफ्री टोलीमाथि छानबिनको माग गरेको छ। साथै, यदि छानबिनबाट आरोप लगाइएका त्रुटिहरू पुष्टि भएमा फिफासँग उक्त रेफ्री टोलीलाई प्रतियोगिताको बाँकी खेलहरूबाट हटाउन पनि संघले आग्रह गरेको छ।
कायरो । इजिप्टले अर्जेन्टिनासँगको ‘राउन्ड अफ १६’ (अन्तिम १६) को नाटकीय हारको नतिजालाई औपचारिक रूपमा चुनौती दिएको छ ।
मंगलबारको खेलमा ३-२ को हारपछि, देशको फुटबल संघले रेफ्री फ्रान्कोइस लेटेक्सियर र उनको टोलीमाथि फिफाद्वारा छानबिनको माग गरेको हो ।
बुधबार जारी गरिएको विज्ञप्तिमा, इजिप्टियन फुटबल संघ (इ एफए) का अध्यक्ष हानी अबो रिडाले फिफामा उजुरी दर्ता गरिएको जानकारी दिए। उनले खेल सञ्चालनका क्रममा भएका गम्भीर त्रुटि र असंगत निर्णय प्रक्रियाले इजिप्टको विश्वकप यात्रा टुंग्याउनमा मुख्य भूमिका खेलेको आरोप लगाए।
विवाद खेलको सुरुवातमै तब सुरु भयो जब मोस्ताफा जिकोले इजिप्टलाई अग्रता दिलाएजस्तो देखिएको थियो; तर ‘भिएआर’ समीक्षाले गोल हुनुअघिको क्रममा लिसान्द्रो मार्टिनेजमाथि फाउल भएको ठहर गरेपछि उक्त गोललाई मान्यता दिइएन।
पछि जिकोले पुनः गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। यसले ‘फ्यारोह’ (इजिप्टको टोली) लाई आफ्नो इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने नजिकको स्थितिमा पुर्याएको थियो।
यद्यपि, क्रिस्टियन रोमेरो र लियोनेल मेस्सीले खेलको अन्त्यतिर गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए भने एन्जो फर्नान्डेजले निर्णायक गोल गरे।
इजिप्टको मुख्य गुनासो फर्नान्डेजको गोल हुनुभन्दा केही क्षण अघिको घटनालाई लिएर थियो। इजिप्टियन फुटबल संघ (ईएफए) को दाबी छ कि पेनाल्टी क्षेत्रभित्र एलेक्सिस म्याक एलिस्टरले हम्दी फाथीलाई तानेर लडाएका थिए र यस घटनामा पेनाल्टी किक दिइनुपर्ने थियो। संघका अनुसार, भिडियो प्रमाण उपलब्ध हुँदाहुँदै पनि रेफ्री टोलीले उक्त घटनाको सही समीक्षा गर्न सकेन।
ईएफएले खेलभरि भएका गम्भीर त्रुटि र असंगत निर्णय प्रक्रियालाई लिएर भीएआर अधिकारीहरूसहित सम्पूर्ण रेफ्री टोलीमाथि छानबिनको माग गरेको छ। साथै, यदि छानबिनबाट आरोप लगाइएका त्रुटिहरू पुष्टि भएमा फिफासँग उक्त रेफ्री टोलीलाई प्रतियोगिताको बाँकी खेलहरूबाट हटाउन पनि संघले आग्रह गरेको छ।
खेल सकिएपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले पनि यस्तै असन्तुष्टि व्यक्त गरे।
“म यसलाई नरम ढंगले प्रस्तुत गर्न वा ‘दुर्भाग्य’ भन्न चाहन्न,” हसनले पत्रकारहरूलाई भने। “आज हामीमाथि अन्यायपूर्ण व्यवहार भयो। हामी अन्यायको सिकार भएका छौं।”
उनले थपे, “हामीले यहाँ सम्मान वा निष्पक्ष खेल (फेयर प्ले) को अनुभूति गरेनौँ।”
संचार माध्यमहरुसँग कुरा गर्दै हसनले संकेत गरे कि प्रतियोगिताको दाबेदार मानिएको टोलीले मैदानभित्रको खेलबाहेक अन्य परिस्थितिका कारण पनि फाइदा उठाएको हुन सक्छ।
“सायद उनीहरू विश्व च्याम्पियनलाई प्रतियोगितामा कायम राख्न चाहन्थे। सायद उनीहरू मेस्सीलाई प्रतिस्पर्धामा टिकाइराख्न चाहन्थे,” उनले भने। “फुटबलमा कहिलेकाहीँ प्राविधिक पक्षभन्दा बाहिरका बाह्य कारकहरूले पनि भूमिका खेल्छन्। विश्व च्याम्पियन टोलीले हरेक तहमा साथ पायो।”
फिफाले इजिप्टको गुनासोबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।