राजनीति

सांसद राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले एमाले सांसद राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ । 

सांसद राईले सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न ? भन्दै प्रश्न सोध्नु भएको थियो । सांसद राईकाे अभिव्यक्तिपछि सभामा विवाद उत्पन्न भएको थियो र प्रतिनिधि सभाको बैठक १५ मिनेट स्थगित भएको थियो ।

त्यसपछि बसेको बैठकमा सभामुख अर्यालले सांसदको रेकर्डबाट राईको सबै अभिव्यक्ति हटाउन निर्देशन दिनुभएको हो ।

बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउनु पर्ने माग दोहोर्‍याउनुभयो ।

नेकपा एमालेका सांसद राजेन्द्र राई, नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङ, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अलि भाटले प्रधानमन्त्री शाह संसदप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसदहरुले प्रधानमन्त्रीले गत जेठ १७ गते दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन प्रतिपक्षीले निरन्तर माग गर्दासमेत सरकारले ध्यान नदिएको बताउनुभयो ।

सांसदहरुले बस्तीबाट हटाएर होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीहरुले खान, लाउन नपाएको भनेर आएका विषयमा सरकारसँग जवाफ माग गर्नुभयो ।

सांसदहरुले किसानले खेती लगाउने समयमा मल र सिँचाइको सुविधा पाउन नसकेको र उत्पादित बस्तुले बजार पाउन नसक्दा किसान मारमा परिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले उखु किसानले उखुको मूल्य नपाएको भन्दै उखुको मूल्य र बाँकी भुक्तानी समयमा नै पाउने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसदहरुले देशैभर बाढी पहिरो र डुबानको समस्या देखिन थालेको भन्दै नागरिकको जिउधनको रक्षाका लागि समयमा नै तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले कर्णाली नदिमा भएको दुर्घटनामा समयमा उद्धार हुन नसक्दा बढी मानवीय क्षति भएको भन्दै यस्ता दुर्घटनामा जतिसक्दो छिटो उद्धारको व्यवस्था गर्नुपर्ने तथा जोखिमयुक्त सडक सुधारमा समयमा नै ध्यान दिन माग गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्