एक्सक्लुसीभ

दल तथा उम्मेदवारहरूलाई घोषणापत्र आयोगमा दर्ता गराउन निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आ–आफ्नो घोषणापत्र आयोगमा दर्ता गराउन निर्देशन दिएको छ । 

आयोगले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले सार्वजनिक गरेको घोषणा पत्र आयोगमा बुझाउन निर्देशन दिएको हो ।

आयोगको साप्ताहिक कार्यप्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्वाचन आयोगको केन्द्रीय कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा घोषणा पत्र बुझाउन आग्रह गर्नुभयो ।

हाल सम्म जम्मा ४१ वटा दलले आ–आफ्नो घोषणा पत्र आयोगमा पेश गरिसकेको आयोगले जनाएको छ ।

सहायक प्रवक्ता पुनले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका जिल्लाहरूमा मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानी भइसकेको र बाँकी प्रदेशका जिल्लाहरूमा मतपत्र बाहेकका अन्य सामग्री पुगिसकेको र मतपत्र पुग्ने क्रममा रहेको बताउनुभयो ।

निर्वाचन आयोगले बदर हुने मत सङ्ख्या घटाउनका लागि यही फागुन ३ गतेदेखि सबै पालिकाका वडाहरूमा स्वयम्सेवक खटाएर निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको, नमूना मतपत्र मार्फत मतदाताको बस्ती र घरदैलोमा पुगेर मतदान प्रक्रियाबारे जानकारी गराइरहेको र मतदाता शिक्षाका लागि ३ सय ४५ वटा डिजिटल सामग्रीहरु उत्पादन गरी आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखेको जनाएको छ ।

यस्तै हाल सम्म ८ सय ६७ जना उम्मेदवारले निर्वाचन खर्च प्रयोजनका लागि आयोगले तोके अनुसारको बैङ्क खाता खोलेको जानकारी निर्वाचन आयोगमा प्राप्त भएको सहायक प्रवक्ता पुनले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.