राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने हुनुभएको छ। आज यहाँ पत्रकार सम्मेलन गर्दै उहाँले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको बताउनुभयो।

मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वास मत लिन भनिए पनि आफूले परमादेशको पत्र मङ्गलबार दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा सोही आधारमा विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्रसमेत पठाइसकिएको जानकारी दिनुभयो।

“अदालतको फैसलाअनुसार प्रक्रिया हुन्छ र विश्वासको मत मैले नै पाउँछु। एमालेले मधेसमा ज–जसलाई मुख्यमन्त्री बनाएको छ। ती सबै दलले मलाइ सघाउँछन्”, उहाँले दाबी थियो।

सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो।

यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। अन्य दलले बहुमतका आधारमा सरकार बनाउन आग्रह गरे पनि तत्कालीन प्रमुख सुमित्रा भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो। त्यसमा विवाद उत्पन्न भएपछि प्रदेश प्रमुख भण्डारीलाई सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गर्नुभएको थियो।

मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा सर्वोच्च अदालतले यसअघि पनि दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.