राजनीति

देशमा सकारात्मक परिवर्तनको खाँचो छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सकारात्मक परिवर्तन हुनु अनिवार्य रहे पनि भत्काउने र विध्वंस गर्ने परिवर्तन देशलाई नचाहिएको बताउनुभएको छ । 

पार्टी मुख्यालय च्यासल ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले त्यस्तो बताउँदै भौतिक संरचना, तोडफोड गरेर देशको विकास कहिल्यै सम्भव नहुने बताउनुभयो । नेपाली जनताले ठुलो सङ्घर्ष र बलिदान दिएर देशमा लोकतन्त्र ल्याएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “अर्काको घरमा आगो लगाउने, सरकारी भौतिक संरचना ध्वस्त गर्ने, सामाजिक सञ्जालमा अस्वस्थता र गलत भास्य सिर्जना गर्नुले मुलुकमा शान्ति र विकास हुँदैन ।”

अहिलेको सरकारले मुलुकमा चुनाव गराउने गरी अन्तरिम सरकार गठन भए पनि निर्वाचनमा ध्यान दिन नसकेको भन्दै उहाँले देशको विकासमा यो सरकारले काम गर्न नसक्ने बताउनुभयो । मुलुकमा शान्ति कायम गर्न र दिगो विकास गर्नका लागि एमालेजस्तो पार्टी रहेको बताउँदै उहाँले केही समयपछि राजनीतिक वातावरण सङ्लिने विश्वास व्यक्त गर्नुभयो ।

लोकतान्त्रिक प्रणाली सबैले मान्न अनिवार्य रहेको भन्दै उहाँले संविधानले त्यही व्यवस्थाको अङ्गिकार गरेको बताउनुभयो । कानुनी प्रक्रिया पूरा गरी शान्तिपूर्ण रूपमा आयोजना हुने निर्वाचनबाट एमाले नभाग्ने तर अस्वस्थ र गैरकानुनी रूपमा आयोजना हुने निर्वाचन सफल नहुने उहाँको भनाइ छ । मुलुकमा कानुनी राज र प्रणालीको विकास गर्न अपरिहार्य रहेको भन्दै उहाँले मुलुकलाई अस्थिर राख्ने छुट कसैलाई नभएको बताउनुभयो ।

कानुनी र राजनीतिक रिक्तताले मुलुक चल्न नसक्ने भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “व्यक्तिगत रिसइबी गरेर मुलुकमा शान्ति आउँदैन, मसहित नेताहरुलाई पक्राउ गर्ने भनिएको छ, के कारण देखाएर पक्राउ गर्ने ? आधार त चाहिएला नि पक्राउ गर्ने ? सम्पत्ति छानबिन गर्ने भनिएको छ, गर्नुस् छानबिन । निष्पक्ष छानबिन गर्नुस् ।”

जेनजी युवाको टाउकोमा आरोप थुपारेर परिवर्तन तुहाउने प्रयास भइरहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, “व्यक्तिको घर जलाउन जेनजी गएका होइनन्, सार्वजनिक भौतिक संरचना जलाउन र तोडफोड गर्न जेनजी गएको होइन । जेनजीको आवरणमा आपराधिक गिरोहले सबै गलत काम गरेको हो । त्यसको उचित छानबिन हुनुपर्छ ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्