राजनीति

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकमा वर्तमान समस्याको समाधान महाधिवेशनबाट खोज्ने तथा पार्टीलाई नयाँ ढङ्गबाट अगाडि बढाउने विषयमा प्रस्ताव तयार गर्ने विषयमा छलफल गरेको छ ।  

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गुण्डुमा बसेको एमाले सचिवालय बैठकमा भएको छलफलबारे जानकारी गराउँदै सो कुरा बताउनुभएको हो । वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभइ अनावश्यक तिक्तता र तनावतर्फ उद्वत रहेको पनि एमालेको बुझाइ रहेको उहाँले बताउनुभयो । अहिले सिङ्गो देशलाई एक ठाउँमा उभ्याउने वातावरण निर्माण गर्नुपर्छ भन्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले उठेका सबै प्रश्नहरुको जवाफ महाधिवेशनबाटै खोज्नुपर्छ र पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउन छिट्टै महाधिवेशन गर्नुपर्छ भन्ने विषयमा छलफल भएको छ । सम्भवतः भोलि हामीले यसको प्रस्ताव तयार गर्छौं । यिनै विषयमा छलफल भएका छन् ।”

उहाँले वर्तमान सरकारले दलहरुलाई साथमा लिनुपर्नेमा उल्टो सरकार निषेधको बाटोबाट अघि बढेको उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “मुलुकलाई यतिबेला विभाजित भएको मनस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नुपर्ने हो । त्यसका लागि सबै दलहरुलाई साथमा लिएर अघि बढ्नुपर्ने हुन्छ । तर, सरकार दलहरुलाई साथमा लिने होइन कि निषेधको बाटोबाट अगाडि बढिरहेको अनुभूति भएको छ।”

राजनीतिक नेताहरुमाथि बौद्धिक आक्रमण र धम्कीहरु आएको तर अर्कातिर प्रहरीलाई कुटीकुटी हत्या गर्ने, प्रहरीको हतियार लुट्नेहरुलाई गृहमन्त्रीको दबाबमा सजिलै छाड्ने गलत काम भइरहेको उहाँले टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “शान्तिपूर्ण ढङ्गले गतिविधि गर्न अरु पार्टीलाई रोक लगाउने, नेताहरुलाई स्थानहद तोक्ने कुराले वर्तमान सरकार निर्वाचन गर्ने, गराउने बाटोतिर होइन, वास्तवमा मुलुकको लागि अनावश्यक तिक्तता, तनाव, मुडभेडतिर लैजान उद्वत छ भन्ने देखिन्छ । यस्तो परिस्थिति अविलम्ब अन्त्य गरिनुपर्छ ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्